दुर्गम बुल गाउँमा विजुली

  • १३ भाद्र २०७६, शुक्रबार
  • 3106 पटक पढिएको

 

बेनी, १३ भदौ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–६ बुलमा बिद्युत सुबिधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र नगद संकलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिजुली बलेको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युत बुलमा विस्तार गरिएको हो । केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको तत्काल सम्भावना नभएकाले लघुजलविद्युतको बिजुली विस्तार गरिएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । बुलमा विद्युतीकरणका लागि धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा २५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानी गर्न तीन लाख बीस हजार रुपैयाँ बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताउनुभयो ।

गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युतका पोल र साढे सात किलोमिटर तार खरिद गरिएको थियो । पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरेका थिए । स्थानीयबासीबाट नगद संकलन गरेर नन्दीवाङखोला जलविद्युत परियोजनाको उपभोक्ता समितिलाई विद्युत खरिदका लागि सात लाख पचास हजार रुपैयाँ बुझाइएको थियो । मल्कवाङको मलम्पार सम्म पुगेको बिद्युतको लाइन विस्तार गरेर बुल पु¥याइएको हो ।

मल्कवाङमा तीन वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत परियोजनाको विद्युत उपभोग हुन नसकेर खेर गएको थियो । बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत अभावमा सूचना प्रबिधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट बञ्चित थिए । बिद्युत सुबिधा भएपछि स्थानीयको दैनिकि सहज भएको छ । विद्युतबाट चल्ने कुटानी पिसानी मिल सञ्चालन गरिएको छ ।

गहुँ, मकै, कोदो पिस्नका लागि दुई घण्टा हिडेर बेशी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मि केसीले बताउनुभयो । टिभी हेर्न, रेडियो सुन्न, मोवाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन पाएका छन् । बालबालिकालाई उज्यालोमा बसेर पढ्न र स्थानीयलाई घरायसी काम गर्न सहज भएको छ ।