रघुगंगा हाइड्रोको साधारणसभा सम्पन्न

  • १२ भाद्र २०७६, बिहीबार
  • 1679 पटक पढिएको

बेनी, १२ भदौ । म्याग्दीमा राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रो लिमिटेडको प्रथम र दोस्रो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले २०७३ मा सहायक कम्पनीको रुपमा स्थापना भएको रघुगंगा हाइड्रोको साधारणसभाले आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को वार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो ।

कम्पनीका अध्यक्ष समेत रहनुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङको अध्यक्षतामा भएको साधारणसभामा प्रबन्ध सञ्चालक गणेश केसीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कम्पनीले रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०६६ देखि सुरु भएको यो आयोजना पुरानो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा लैजाने क्रममा क्षमता बढाएर कम्पनी मोडेलमा बनाउने निर्णय भएको थियो ।

२०७४ मंसिर ५ मा छ अर्ब रुपैयाँमा सिभिल ठेक्का लिएको जेपी एसोशियट्सले बीस महिना पुर्व तयारीमै गुजारेको छ । ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेपछि अबको २५ महिनामा बाँकी ८५ प्रतिशत काम सक्न चुनौति देखिएको छ ।