निलगिरी हाइड्रोमा सडक खन्दा दुई मजदुर घाइते

  • ११ भाद्र २०७६, बुधबार
  • 3223 पटक पढिएको

बेनी ११ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ नारच्याङको छोटेपामा जलविद्युत आयोजनाको सडक निर्माणमा खटिएका दुई जना मजदुर घाइते भएका छन् । सडक निर्माणका क्रममा भिरबाट खसेर बुधबार नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते दुवै जना मजदुरलाई उपचारका लागि ठेकेदारले पोखरा लगेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो । एक सय मिटर तल खसेका उनिहरु पोखरा पठाउँदा सम्म बेहोस थिए । निलगिरि हाइड्रो पावर लि.द्धारा प्रर्वद्धित उक्त आयोजनामा पछिल्लो एक वर्षयता भएको दुर्घटनामा दुई जना मजदुरको यसअघिनै मृत्यु भएको थियो ।

भौगोलिक रुपमा विकट क्षेत्रमा सञ्चालित आयोजनालाई मजदुरको सुरक्षामा सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानराज ढकालले बताउनुभयो । निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यासकेड बनाउन पहुँचमार्ग खनिरहेको छ ।