तीन कार्यालयको कार्यक्रम सार्वजनिक : कृषि, पशु र प्रधानमन्त्री आधुनिकीकरणको नौ करोड बजेट

  • ९ भाद्र २०७६, सोमबार
  • 3603 पटक पढिएको

म्याग्दी ९ भदौ । म्याग्दीका तीन कार्यालयले चालु आर्थिक बर्ष २०७६/७७ मा सञ्चालन गर्ने कार्यक्रम र स्विकृत बजेट सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा संयुक्त कार्यक्रमको आयोजना गरी स्विकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रम सार्वजनिक गरेका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालको कार्यक्षेत्र म्याग्दी र मुस्ताङका सबै स्थानीय तह हो भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले म्याग्दीका ५, बागलुङका दुई र पर्वतको एक स्थानीय तहलाई समेटेको छ । कृषि र पुशपालनसंग सम्बन्धित तीन वटा कार्यालयले चालु आर्थिक बर्षको लागि नौ करोड ३८ लाख रुपैयाँ बजेट र कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यक्रममा परियोजनाका बरिष्ठ कृषि अधिकृत सुर्यप्रसाद बरालले चालु आर्थिक वर्षका लागि सुन्तला र बंगुर जोन कार्यक्रमका लागि तीन करोड ५३ लाख रुपैयाँ बजेट आएको जानकारी दिनुभयो ।

सुन्तलाको बगैचा र नर्सरी व्यवस्थापन, नमुना बगैचा व्यवस्थापन, तालिम, बंगुरपालक कृषकलाई तालिम, खोर सुधार, औषधी वितरण, मासु पसल सुधार, आधुनिक बधस्थल निर्माण, घुम्ती पशु चिकित्सा सेवा लगायतको क्षेत्रमा बजेट परिचालन गरिने जनाईएको छ ।कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुमले प्रशासनिक शिर्षकको ७५ लाख ५६ हजार रुपैयाँ सहित कुल तीन करोड १३ लाख ७९ हजार रुपैयाँ बजेट बिनियोजन भएको बताउनुभयो । कार्यालयले यस बर्ष साना मोडल फार्म स्थापना, गाईभैसी र भेडाबाख्रा पकेट क्षेत्र, मत्य व्यवसायि उपकरण खरिद, चौरी पालन लगायत पशुविकासको क्षेत्रमा बजेट परिचालन गरिने जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले विभिन्न शिर्षकमा दुई करोड ७२ लाख ५८ हजार रुपैयाँ बजेट बिनियोजन भएको र थप शिर्षकमा पनि बजेट आउने बताउनुभयो । कार्यालयले साना मोडल फार्म स्थापना, साना सिचाई कार्यक्रम, कृषि यन्त्र खरिदमा, पलास्टिक टनेल घर निर्माण, विउ उत्पादन प्रशोधन तथा प्रमाणीकरण, भकारो सुधार, सुन्तलाजात विरुवा वितरण, मौरीपालन तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । भेटेरिनरी अस्पताल र कृषि ज्ञान केन्द्रले साना मोडेल फार्मको अनुदानका लागि आवेदन आव्हान गरेको जनाएका छन् ।

कार्यक्रममा सहभागि विभिन्न संघ संस्थाका प्रतिनिधि र कृषकहरुले कृषि र पुशपालन संग सम्बन्धित कार्यक्रमलाई एकद्धार प्रणाली मार्फत लक्षित कृषकसम्म पु¥याएर प्रभावकारी बनाउन माग गरेका थिए । गण्डकी प्रदेशका सांसद बिनोद केसी र संबिधानसभा सदस्य नरबहादुर थापाले बजेटको सदुपयोग र प्रभावकारी परिचालनमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवर, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, कृषक धनबहादुर श्रीस, जिवन पौडेल, प्रेम श्रीस लगायतले सुझाव तथा भनाई राख्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालको अध्यक्षता र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका शिव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।