रवि र युवराज धरौटीमा, अस्मीता साधारण तारेखमा रिहा

  • ९ भाद्र २०७६, सोमबार
  • 2240 पटक पढिएको

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका पत्रकार रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको उल्लेख गरिएको भिडियो सार्वजनिक भएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो । पत्रकार लामिछाने सहितलाई रिहाइको माग गर्दै चितवनमा दैनिकजसो आन्दोलन हुँदै आएको थियो । उनीहरुको रिहाईसंगै समर्थकहरुले खुसीयाली समेत बनाएका छन् ।