मलम्पारको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिँदै

  • ९ भाद्र २०७६, सोमबार
  • 3656 पटक पढिएको

म्याग्दी ९ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –५ मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिने भएको छ । दुर्गम बस्ती मलम्पारमा रहेका बालबालिकाहरुलाई आधुनिक शिक्षाको पहुँच बृद्धि गर्न विद्युतिय पुस्तकालय स्थापना गर्ने तयारी स्वरुप विद्यालयमा कम्प्युटर, सौर्य उर्जाको जडान र इन्भटरको व्यवस्थापन गरिएको हो ।

धवलागिरी गाउँपालिकाको कार्यालयले २ थान कम्प्युटर उपलब्ध गराएको र थप १ थान कम्प्युटर समुदायले व्यवस्थापन गरेको विद्यालयका प्रअ भोग बहादुर नेपालीले जानकारी दिए । उनका अनुसार, स्थानीय बुद्धिबहादुर छन्त्याल र घनु छन्त्यालको अगुवाईमा स्थानीयले एक थान कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् ।

त्यसैगरि युकेमा रहेका इन्द्र छन्त्यालले एक थान इन्भटर उपलब्ध गराएकी छिन् । विद्यालयमा थप कम्प्युटर व्यवस्थापन सहित विद्युतिय पुस्तकालय स्थापना गर्ने तयारी गरिएको शिक्षक पञ्चबहादुर छन्त्यालले जानकारी दिए । कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा करिब १ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

दुर्गम भेगमा रहेको यस विद्यालयमा समुदाय स्तरबाट विद्यालयलाई आधुनिक शैक्षिक प्रणालीमा रुपान्तरणको प्रयास भैरहेपनि विद्यालयमा कक्षाकोठा भवन, फर्निचर,खानेपानी, शैक्षिक सामाग्री, विज्ञान प्रयोगशाला लगायतको अभाब रहेको जनाईको छ ।