नगरपालिकालाई शिक्षक महासंघको ध्यानाकर्षण

  • ८ भाद्र २०७६, आईतवार
  • 1761 पटक पढिएको

बेनी, ८ भदौ । नेपाल शिक्षक महासंघ बेनी नगर समितिले आइतबार बेनी नगरपालिकालाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । नगर भित्रका शैक्षिक समस्या समाधान, गुणस्तर सुधार र शिक्षकका पेशागत हितसँग सम्बन्धित मागहरु सहित महासंघका नगर अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र सामाजिक विकास समितिका संयोजक गोविन्द्रप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

सो पत्रमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दि ब्यवस्थापन गर्न, शून्य दरबन्दिमा सञ्चालित विद्यालयमा दरबन्धि तथा थप अनुदान उपलब्ध गराउन, सामुदायिक र निजी विद्यालयका शिक्षक कर्मचारीहरुलाई श्रम विभागले तोके अनुसारको पारिश्रमिक उपलब्ध गराउन, उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्न, शैक्षिक बहस सञ्चालन गर्न, शिक्षकहरुलाई मासिक रुपमा तलब वितरण गर्न, शिक्षकहरुको क्षमता विकासका कार्यक्रम बनाउनुपर्ने उल्लेख छ ।

दिवस, मेला महोत्सव र कार्यक्रममा विद्यार्थीको प्रयोग नगराउन, स्थानीय पाठ्यक्रम लागु गराउन पनि महासंघले माग गरेको सचिव टेकप्रसाद सुवेदीले बताउनुभयो । नगरप्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम मार्फत महासंघले गरेका अधिकांश माग समेटिएको बताउनुभयो ।

शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक महासंघ लगायत सरोकारवालाहरुसँग समन्वय गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगर उपप्रमुख बरुवाल र सामाजिक विकास समितिका संयोजक पौडेलले शून्य दरबन्दिमा सञ्चालित रामचन्द्र, दिपक, सरस्वति र राष्ट्रिय माविलाई चार चार लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयो ।

कक्षा ८ र एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई पुरस्कृत गर्न तीन लाख, सबै विद्यालयमा विद्युतीय हाँजिरी मेसिन जडान गर्न छ लाख रुपैयाँ बिनियोजनन गरिएको र प्रबिधि सम्बन्धी तालिम समेत सञ्चालन गरिने बताउनुभयो ।