ट्रक दुर्घटनामा मजदुरको मृत्यु

  • ७ भाद्र २०७६, शनिबार
  • 1880 पटक पढिएको

म्याग्दी,७ भदौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा निर्माणाधिन घारखोला जलविद्युत आयोजनाको ट्रक दुर्घटना हुँदा शुक्रबार एक मजदुरको मृत्यु भएको छ ।  १४ मेगावाट क्षमताको आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको बुम ट्रक दुर्घटना हुँदा रुकुमको लुकुमका ४१ वर्षीय टेकमान कामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अमिलाकाफल स्थित आउटलेटबाट मजदुर लिएर सुरुङ पस्ने क्रममा मुखबाट ट्रक खसेर दुर्घटना भएको थियो । ट्रक पछि गुड्न थालेपछि त्यहाँ चढेका अन्य मजदुर भने हामफालेर भागेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा ल्याएको र परिवारका सदस्य आएपछि उनिहरुलाई जिम्मा लगाइने प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । नागरिक उर्जा बुटवल लिमिटेड लगानीकर्ता रहेको म्याग्दी हाइड्रोपावरले घारखोला जलविद्युत आयोजना बनाउन लागेको हो ।


अन्नपूर्ण–५ कुरिलाखर्कमा बाँध, तीन किलोमिटर लामो सुरुङ र १ हजार २ सय मिटर पेनस्टक पाइपबाट गोजेमा निर्माण हुने पावर हावसमा पानि खसालेर विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ ।
हाईड्रो कन्सल्ट इन्जिनियरिङ परामर्शदाता र साउथ एशिया इन्फाइस्टक्चर आयोजनाको सिभिल ठेकेदार हो ।