मंगलाका सडकलाई ‘हरित’ बनाउने अभियान (फोटो फिचर)

  • ६ भाद्र २०७६, शुक्रबार
  • कमल खत्री
  • 2981 पटक पढिएको

कमल खत्री
म्याग्दी ६ भदौ । म्याग्दीको मंगला गाउँपालिकाले ग्रामिण सडकलाई हरियाली बनाउन ‘हरित सडक’को अभियान थालेको छ । सडकको दायाँ र बायाँ विरुवा रोपण गरि सडकलाई हरित बनाउन सुरु गरिएको हो । गाउँपालिकाको केन्द्रदेखि पोक–सातविशे–ज्यामिरे–टोरीडाँडा हुँदै बरंजा जाने सडक हरियाली भएको छ ।

दुई बर्षदेखि यस सडक खण्डको दायाँ र बायाँ अम्रिसो रोपेर हरियाली बनाउने काम भैरहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । उनका अनुसार, यसै सडकखण्डमा यो पटक थप ३ हजार अम्रिसो र कल्की फुल ३५० रोपण गरिएको छ । सडकले समेटिएको बस्तीमा ‘एक घर, एक सय बोट अम्रिसो’ रोपण गरिएको छ ।

गाउँपालिकाले तोराखेत–सल्यान– हिदी सडकमा ५ सय, लाम्पाटा–लरेनी सडकमा ४ सय कल्की फुल रोपण गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना गाउँ छनौट भएको सातविसे गाउँ र तोराखेत–सिमकुना–सातविसे सडकमा १ हजार कल्कीफुलका बोट रोपण गरिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताईन् ।

यहाँका हरेक घरमा मौरीपालन सुरु भएकाले वातावरण संरक्षण र मौरीको चरनको लागि कल्कीफुल रोपण गरिएको हो । ‘‘ अम्रिसोले स्थानीयलाई कुचो र घाँसबाट लाभान्वित बनाएको छ, सडक हरियाली र पहिरो नियन्त्रणमा पनि प्रभाबकारी बनेको छ, कल्कीफुल वातावरण संरक्षण र मौरीचरनको लागि उत्तम मानिएको छ, सबै सडकलाई हरियाली बनाउने योजनालाई थप व्यवस्थित बनाउने हाम्रो योजना छ’’–उपाध्यक्ष केसीले भनिन् ।

आर्थिक बर्ष २०७५/०७६ मा गाउँपालिकाले रु १ लाख लगानी गरि कल्कीफुल, अम्रिसो,डालेघाँस लगायतका विरुवा उत्पादन गरि विरुवा रोपण गरेको जनाएको छ । गाउँपालिकाले यस बर्ष ६ हजार कल्की फुलका मात्रै विरुवा रोपण गरेको छ । स्तरोन्नती भएका सडक संगै पुलचोक–झाँक्रिपानी पदमार्ग, निर्माणधिन इन्द्रेणि पार्कमा समेत बृक्षारोपण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतमले जानकारी दिए ।

सडकलाई वातावरण मैत्री, दिगो, व्यवस्थित र हराभरा बनाउन, भू–क्षयको रोकथाम, वातावरण शुद्धता र सडक सौन्दर्यताको लागि हरित सडक निर्माण अभिायनको थालनी गरिएको गौतमले बताए । नीति तथा कार्यक्रममा नै गाउँपालिकाका मुख्य सडकहरुलाई हरित बनाउने निती ल्याएको यस गाउँपालिकाले आगामी बर्ष स्तरोन्नती हुने सबै सडकमा बृक्षारोपण गरि हरियाली बनाउने योजना बनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l