कवड्डी प्रतियोगिता सुरु

  • ६ भाद्र २०७६, शुक्रबार
  • 1976 पटक पढिएको

 

बेनी, ६ भदौ । बेनीमा बिहीबार देखि पुरुष खुल्ला तथा अन्तर मावि स्तरीय छात्रा कवड्डी प्रतियोगिता सुरु भएको छ । म्याग्दी कवड्डी संघले आयोजना गरेको शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ र छात्रातर्फ ६ विद्यालयको सहभागिता छ ।

पुरुष खुल्लाको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३५ हजार र बीस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।यस्तै अन्तर मावि स्तरीय छात्रातर्फ बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद बीस हजार र दश हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

खुल्लातर्फ उत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय र छात्रातर्फ एक हजार पाँच सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । म्याग्दी कवड्डी संघ ए, सिम्फोनी कम्प्युटर सेन्टर बागलुङ, म्याग्दी कवड्डी संघ बि र उत्साही समूह पर्वत बेनीको समूह खुल्ला पुरुषतर्फ सेमी फाइनल प्रवेश गरेका छन् ।

छात्रातर्फ न्यु वेष्ट पोइन्ट आवासीय मावि, माउन्ट एभरेष्ट आवासीय मावी, प्रभा मावी नारच्याङ र बेनी सामुदायिक सेमि फाईनल पुगेका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले म्याग्दीको नाम चिनाउन खेलकुद क्षेत्र र खेलाडीहरुको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।

खेल क्षेत्रमा म्याग्दी अगाडी बढ्न थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानराज ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।म्याग्दी कवड्डी संघका अध्यक्ष राजकुमार परियारको अध्यक्षता, खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानको स्वागत र सञ्चारकर्मी समिर रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।