चट्याङ लागेर लाखौँको क्षति व्यहोरेका भेडापालक कृषकलाई राहत दिन साँसद केसीको माग

  • ५ भाद्र २०७६, बिहीबार
  • 2349 पटक पढिएको

म्याग्दी ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा लाखौँको क्षति व्यहोरेका कृषकलाई राहत दिन म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले माग गर्नुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभा बैठकको शुन्य समयमा साँसद केसीले चट्यांगले भेडाबाख्रा मर्दा कृषकलाई परेको क्षतिबारे जानकारी गराउँदै पिडित बनेका कृषकलाई राहत दिन प्रदेश सरकारको ध्यानकर्षण गराएनुभएको हो ।


गत साउन ३१ गते राती परेको चट्याङ लागेर खर्कमा रहेका ६१ वटा भेडा मर्दा रु. १० लाख मूल्य बराबरको क्षति पुगेको थियो । बैठकमा गण्डकी प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले प्रहरी मुचुल्का सहितको प्रमाणको आधारमा कृषकलाई राहत प्रदान गरिने प्रतिबद्धता जनाउनुभएको थियो । चट्यांगले राजेश तिलिजा, लालबिर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाईजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा मरेका थिए ।

एक वटा भेडा रु १५ हजारदेखि २५ हजार सम्ममा विक्रि हुने गरेको छ । सबै कृषकका भेडा एउटै खर्कमा बास बसेको समयमा चट्याङ परेपछि सबैको भेडा मरेका हुन् । कृषकको भेडा मरेर भएको क्षतिको विवरण घार प्रहरी चौकीबाट खटिएको टोलीले संकलन गरेको थियो ।