धवलागिरी आधारभूतको कक्षा कोठा भवन पुननिर्माण (फोटो फिचर)

  • ३२ श्रावण २०७६, शनिबार
  • 2249 पटक पढिएको

बेनी ३२ साउन । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७५ साउन ३० गते कालीगण्डकी नदीमा आएको बाढीले विद्यालयको कोप्चेपानी स्थित भवन कटान गरेर बगाएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २३ लाख ६५ हजार १०० रुपैयाँ अनुदान र स्थानीयको श्रमदान सहित कुल २५ लाख ९४ हजार ५५६ रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण भएको प्रअ शान्ति राम्जालीले बताउनुभयो ।

भवन निर्माणका लागि भालेबास भन्ने ठाउँमा जगतबहादुर बोहोराले दुई आना दुई दाम जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । कक्षा ३ सम्मको पढाई हुने विद्यालयमा दश जना विद्यार्थी छन् । कक्षा कोठालाई पार्टेशन गरेर पठनपाठन सञ्चालनको तयारी गरिएको छ । भवन बगाएपछि व्यक्तिको घरमा कक्षा सञ्चालन गरिएको थियो । थप भवन, शौचालय, घेराबार र खानेपानी योजनाको माग गरिएको प्रअ राम्जालीले बताउनुभयो ।

भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले शुत्रबार उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, जिसस सदस्य मेखबहादुर गर्बुजा, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलाल लगायतको उपस्थिति थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खड्काको अध्यक्षता, नारच्याङ आधारभूत विद्यालयका प्रअ सुकबहादुर गर्बुजाको सञ्चालन र शिक्षक दुर्गादेवी बरुवालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।