धवलागिरी गाउँपालिकामा शिक्षक व्यवस्थापन सुरु

  • २६ श्रावण २०७६, आईतवार
  • सन्ताेष गाैतम
  • 1715 पटक पढिएको

 

बेनी २६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिको शिक्षक व्यवस्थापन सुरु गरेको छ । न्यून विद्यार्थी संख्या भएका विद्यालयका शिक्षकलाई नजिकको बढी विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्न सुरु गरेको हो । दश जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा बहुकक्षा सञ्चालन गर्ने र शिक्षकले अन्य विद्यालयमा स्थानान्तरण गर्न सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

पहिलो चरणमा शुक्रबार १–५ तहको पठनपाठन हुने वडा न. ६ मराङको कल्लेनी आधारभूत विद्यालयका दुई जना शिक्षकलाई अन्यत्र व्यवस्थापन गरिएको छ । तीन जना शिक्षक कार्यरत सो विद्यालयमा ८ जना भर्ना भएकामा हाल चार जना मात्र थिए । तीनै जना शिक्षकलाई अन्यत्र व्यवस्थापन गरेर त्यहाँ एक जना सहयोगी राखेर विशेष कक्षा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

एक जनालाई जनविकास मावि मराङ र अर्का एक जनालाई जगन्नाथ आधारभूत विद्यालय हिलापोखरीमा व्यवस्थापन गरिएको छ । बाँकी एक जनालाई पनि छिट्टै अन्यत्र व्यवस्थापन गर्ने गाँउपालिकाको तयारी छ ।समुदायसंग छलफल गरेर शिक्षक व्यवस्थापनको निर्णय गरिएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो । बसाईसराईका कारण विद्यार्थी संख्या कम भएको कल्लेनी आधारभूत विद्यालयका निवर्तमान प्रअ भेषनाथ गौतमले बताउनुभयो ।

न्युन विद्यार्थी संख्या भएका अन्य विद्यालयका शिक्षकलाई पनि नजिकको विद्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारका अनुसार धवलागिरी गाउँपालिकामा १० वटा माध्यमिक र १९ वटा आधारभूत विद्यालय छन् । एक वटा बाहेक ९ वटा मावि निजी स्रोतबाट सञ्चालन भएका छन् ।

शिक्षक व्यवस्थापन गरिएका र अन्यत्र समाहित भएका विद्यालयमा पछि विद्यार्थी संख्या वृद्धि भएमा आवश्यकताको आधारमा पुनस्थापना गर्न सकिने विकल्प छ । वडा न. ३ को सोलवाङमा हालै एक वटा आधारभूत विद्यालय स्थापना गरिएको छ ।

शिक्षक व्यवस्थापन गरिएका विद्यालयका विद्यार्थीहरुलाई शिवाङको हेम माविमा सञ्चालन हुने आवासीय विद्यालयमा पढ्ने व्यवस्था मिलाउने गाउँपालिकाका शिक्षा शाखा प्रमुख गिरिप्रसाद छन्त्यालले बताउनुभयो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा हेम माविलाई आवासीय विद्यालय बनाउने सम्झौता भइसकेको छ ।

सन्ताेष गाैतम