सामुदायिक वन दिवस मनाइयो

  • २५ श्रावण २०७६, शनिबार
  • 2823 पटक पढिएको

बेनी २५ साउन । चौथो सामुदायिक वन उपभोक्ता दिवस शनिबार म्याग्दीमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–६ डम्मरामा वृक्षारोपण गरिएको हो । डम्मराको सिर्जनशिल बाल क्लवका पदाधीकारी र सदस्यहरु पनि वृक्षारोपणमा सहभागी भएका थिए ।

थाकन भालुखोला सामुदायिक वनको डम्मरा–छाप सडकको पाखो छेउमा १८० वटा चिउरी, राइखन्यु, लप्सी र निमारो जातका बिरुवा रोपिएको महासंघकी प्रदेश सहसचिव सिता गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले नेपालको वन तथा वातावरण संरक्षणमा साुमदायिक वन उपभोक्ता समूहको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

वडा अध्यक्ष तथा थाकन भालुखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णसिङ बानियाको अध्यक्षता, सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीकी महासचिव तेजकुमारी पुनको सञ्चालन र महासंघका नगर अध्यक्ष मुक्ति खड्काको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनी, डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाको पनि उपस्थिति थियो ।