धवलागिरी गाउँपालिकाको ताकममा घुम्ती कार्यपालिका बैठक, यस्ता भए निर्णय !

  • २४ श्रावण २०७६, शुक्रबार
  • 1416 पटक पढिएको

म्याग्दी २४ साउन । म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती रुपमा कार्यपालिका बैठक बस्ने अभ्यासको थालनी गरेको छ । गाउँपालिकाको केन्द्रमा मात्रै बस्दै आएको कार्यपालिका बैठक चालु आर्थिक बर्षको सुरुवातसंगै घुम्ती रुपमा विभिन्न वडास्तरमा पुगेर बैठक बस्ने अभ्यासको सुरुवात गरिएको हो । पहिलो घुम्ती कार्यपालिका बैठक वडा नम्बर ७ ताकममा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले अघिल्लो आर्थिक बर्ष २०७५/०७६ को बार्षिक समिक्षा गरेको छ ।

बैठकले करारमा शिक्षक राख्ने व्यवस्थाको लागि बनेको कार्यविधिलाई पारित गरेको छ । त्यसैगरि घ बर्गको निर्माण व्यवसायिको इजाजत दिने कार्यविधि संशोधन गर्नुको साथै करार कर्मचारीको म्याद थप गर्ने लगायतका निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सुनारले जानकारी दिनुभयो । गाउँपालिकाले गत आबमा ८२ दशमलब ६३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

कार्यपालिका बैठकले कार्यविधि पारित गरेसंगै गाउँपालिकाभित्र शिक्षक अभाबको सामना गरिरहेका विद्यालयमा करारमा शिक्षक नियुक्त गर्ने बाटो खुलेको गाउँकार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । बैठकले बर्षातमा विग्रीएको सडकलाई मर्मत गर्ने र पहिरो र भुक्षयको जोखिम बढेको स्थानको सुरक्षाको लागि ग्याविन जाली उपलब्ध गराउने लगायतका निर्णय समेत गरेको छ ।