तिजलाई भड्कीलो नबनाउन प्रशासनको अनुरोध

  • २४ श्रावण २०७६, शुक्रबार
  • 1324 पटक पढिएको

बेनी २४ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिज पर्वलाई भड्कीलो नबनाउन अनुरोध गरेको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीद्धारा शुक्रबार जारी विज्ञप्तिमा मौलिक सामाजिक, सांस्कृतिक परम्पराको संरक्षण हुने गरि तिज मनाउन अनुरोध गरेको हो ।

दर खाने र जमघट हुने नाममा पर्व सुरु हुनु अघिदेखिनै तडकभडक, महङ्गा गरगहना र कपडा सहित पार्टी प्यालेस देखि तारे होटलसम्म हुने भड्कीको प्रर्दशन, मदिरा सेवन, अश्लिल तथा विकृतिमूलक गित संगितले तिजको मौलिकतामा प्रश्न उठाएको प्रशासनको भनाई छ ।

उपभोगवादी संस्कृतिले समाजका कमजोर आर्थिक अवस्था भएका समुदायलाई नकारात्मक असर पार्ने भएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको हरितालिका तीजलाई विकृति, विसंगति र तडकभडकबाट मुक्त गरी हाम्रो मौलिक सामाजिक, सांस्कृतिक परम्पराको संरक्षण हुने गरि मनाउन अनुरोध गरिएको छ ।