घर पुननिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न ताकेता

  • २४ श्रावण २०७६, शुक्रबार
  • 2123 पटक पढिएको

सन्तोष गौतम
बेनी २४ साउन । म्याग्दीका एक तिहाई भूकम्प पिडितले अझै निजी आवास पुननिर्माण गरेका छैनन् । २०७२ बैशाखको भुकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरि पहिलो किस्ता अनुदान लगेका ७९६ मध्य आवास पुननिर्माण सकेर तेस्रो तथा अन्तिम किस्ता अनुदान लैजाने पिडितको संख्या ३२६ जना छ । तेस्रो किस्ता लैजाने सहित घरको डिपीसी गरेर डेढ लाख रुपैयाँका दरले दोस्रो किस्ता अनुदान लैजाने भूकम्प पिडितको संख्या ३७९ जना रहेको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।

अनुदान लगेर घर नबनाएकाहरुलाई भदौ मसान्त भित्र रकम फिर्ता गर्न ताकेता गरिएको छ । प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाको अध्यक्षतामा यसै हप्ता बसेको पुननिर्माण जिल्ला समन्वय समितिको बैठकले पहिलो किस्ता लगेर घर बनाउन सुरु नगरेकाहरुलाई अनुदान रकम फिर्ताका लागि स्थानीय तह र वडा मार्फत ताकेता गर्ने निर्णय भएको गेलालले बताउनुभयो ।

२ जनाले अनुदान फिर्ता गरेका छन भने सम्झौता नगरेका ८० जनालाई भुकम्प पिडितको लाभग्राही सूचिबाट हटाइएको छ । प्राबिधिक आउनुअघि बनेका १४७ वटा घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णय अनुसार एक लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइने भएको छ । २०७३ पुषमा इञ्जिनियरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएपनि ८७२ जना लाभग्राही पहिचान भएका थिए । छुटको गुनासो दर्ता गराएका ५३३ जना पिडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो ।

२०७३ चैतदेखि सम्झौता र २०७४ मंसिर देखि पिडितको खातामा अनुदान पठाएर निजी आवास पुननिर्माण सुरु गरिएको थियो । दोस्रो किस्ता वापत डिपिसी गरेपछि एक लाख पचास हजार र भवन बनाएपछि अन्तिम किस्ता वापत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ । बैठकले बेनी नगरपालिका ३ को तोराखेत, रघुगंगा गाँउपालिकाको चौरखानी, रायखोर, धवलागिरी गाउँपालिकाको खोरिया र लम्सुङमा भूकम्पका कारण जमिन धाँजा फाटी बस्तीनै जोखिममा देखिएकाले उक्त क्षेत्रहरुको भौगर्भिक अध्ययनका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई अनुरोध गरेको छ ।यसअघि प्राधिकरणको अध्ययन टोलीले बेनी नगरपालिका १० पात्लेखेतको बान्द्रे पहिरोको जोखिममा रहेका ६२ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणको सुझाव दिएको थियो ।