रघुगंगाले बनायो प्रथम पञ्चबर्षिय योजना

  • २४ श्रावण २०७६, शुक्रबार
  • कमल खत्री
  • 2778 पटक पढिएको

कमल खत्री

म्याग्दी २४ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये रघुगंगाले पहिलो पटक प्रथम पञ्चबर्षिय योजना सार्वजनिक गरेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण गर्ने लक्षलाई कार्यान्वयन गर्नको लागि योजनाबद्ध विकास गर्न रघुगंगाले पञ्चबर्षिय योजना निर्माण गरेको जनाएको छ ।


२०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि गत असार २० गतेको कार्यपालिका बैठकले स्वीकृत गरेको प्रथम पञ्चवर्षिय योजना सार्वजनिक गरिएको कार्यपालिकाका प्रवक्ता जिवनकुमार मल्लले जानकारी दिनुभयो । आर्थिक विकास र गरिबी निवारणलाई जोड दिएको पञ्चवर्षिय योजनाले मध्य र दिर्घकालिन प्रकृतिका योजनाहरुको वडागत सूचि समेत तयार पारेको छ ।

कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको नेतृत्वमा आवधिक योजना तर्जुमा निर्देशक समिति गठन भएको छ । २०७७ मा मध्यावधि मूल्याङ्कन गरिने योजनामा बहुक्षेत्रगत विकासका नीतिहरु, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, सूचना, सञ्चार क्षेत्रलाई महत्व दिएको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । ‘‘ रघुगंगाको विकासमा यसले दिशा निर्देश गर्नेछ, विकासलाई कत लैजाने भन्ने कुराको ठोस निक्यौल गर्न पञ्चबर्षिय योजनाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’–प्रमुख प्रशासकिय अधिकृत थापाले भन्नुभयो ।

करिब तीन महिनाको वडागत रुपमा छलफल गरि इगल्स सोलुसन्स प्रा.लिको प्राविधिक सहयोगमा गाउँपालिकाले आवधिक योजना निर्माण गरेको हो । आवधिक योजना तर्जुमा निर्देशिका बमोजिम विस्तृत स्थलगत अध्ययन गरि समस्या र सम्भावनाहरुको पहिचान र प्राथमिकता गरेर दिर्घकालिन विकासको खाकालाई योजनामा समावेश गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘‘ हामीले यसलाई दिर्घकालिन मार्गदर्शनको रुपमा लिएका छाँै, समग्र विकासलाई यसभित्र प्राथमिकतामा राखेका छाँै, गौरवका योजना र क्षेत्रगत योजनाहरु प्राथमिकीकरण भएकाले प्रदेश र संघिय सरकारसंग विकास साझेदार गर्न थप सहज हुने विश्वास लिएको छु’’–अध्यक्ष भण्डारीले भन्नुभयो । योजनामा क्षेत्रगत विकासको लक्ष्य, कार्यक्रमको विश्लेषण,दिर्घकालिन भौतिक विकासको योजनालाई समेटीएको छ ।

त्यसैगरि पालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहाँसिक स्थलहरुको अबस्था र विकासको सम्भावना, वडागत भोतिक पूर्वाधार योजना, सडक लगायतका विकास निर्माण योजनाहरुसंगै अवसर, चुनौति र समस्याहरुलाई समेत समेटीएको छ । त्यसैगरि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार लगायतका क्षेत्रको अबस्था र प्राथमिकतालाई समेत आबधिक योजनामा समेटीएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l