बाल बिवाह रोकियो : “ठेकी लगाउन” हिडेका जन्ती बाटैबाट फर्किए

  • २० श्रावण २०७६, सोमबार
  • 6395 पटक पढिएको

सन्तोष गौतम
बेनी १९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकामा बाल बिवाह रोकिएको छ । ताकम प्रहरी चौकी, हेम मावि बाल क्लव शिवाङ, लमसुङ माविको जनजागृति बाल क्लवको पहलमा “ठेकी लगाउन” हिडेका जन्तीलाई बाटैबाट फर्काइएको छ । लुलांगका १७ वर्षीय युवाले मच्छिमकी १७ वर्षीया किशोरीलाई बिवाह गर्न लागेको सूचना पाएपछि दुवै बाल क्लवले समन्वय गरेर ताकम प्रहरी चौकी र जनप्रतिनिधिहरुलाई सूचना गरेका थिए ।

लमसुङबाट मच्छिम बिवाहका लागि ठेकी लगाउन हिडेका जन्तीलाई शुक्रबार गाउँपालिकाको केन्द्र मुनामा रोखिएको थियो । बिवाह गर्न लागेका युवा र किशोरी दलित समुदायका हुन् । सामाजिक कारण देखाउदै उनिहरुको नाम सार्वजनिक गरिएको छैन् । दलित समुदायमा दुहालको घरबाट लगिएको प्रसाद “ठेकी” खुवाएपछि बिवाहले सामाजिक मान्यता पाउने चलन छ ।

बाल बिवाह गर्न नपाउने कानुनि ब्यवस्था र कारबाही प्रक्रिया जानकारी गराएपछि दुवै पक्षका अभिभावकको सहमतिमा बिवाह रोकीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । जनप्रतिनिधि र अगुवाहरुको रोहवरमा शनिबार भएको छलफलपछि दुलाह, दुलही र उनिहरुका अभिभावक तत्काललाई बिवाह रोक्न सहमत भएका थिए । हेम मावि बाल क्लवकी अध्यक्ष चन्द्रकला गोतामेका अनुसार केटीको उमेर बीस वर्ष पुगेपछि बिवाह गर्ने समझदारी गरेका छन् ।

ती युवकले दुई वर्षअघि ८ कक्षा पढ्दा पढ्दै विद्यालय छाडेका थिए । किशोरीले पनि डेढ वर्षअघि ७ कक्षा पढ्दा पढ्दै विद्यालय छोडेकी थिइन् । गाउँपालिका, बाल क्लव, गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना र गल्र्स फस्ट फण्ड परियोजनाले अभियान चलाएका छन् । गत हप्ता हेम माविमा बाल बिवाह न्युनीकरणका विषयमा छलफलका लागि बाल कचहरीको आयोजना गरिएको थियो ।

१६ वटा विद्यालयमा गठन भएका बाल क्लवले बाल बिवाह न्युनीकरणमा सक्रियता देखाएको गुड नेवर्स इन्टरनेशनलका जिल्ला संयोजक द्रोण जिसीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बाल बिवाह न्युनीकरणका लागि उपाध्यक्षसंग उमेर सान्दर्भिक बिवाह कार्यक्रम मार्फत जनचेतनामुलक कार्यक्रम गरिएको बताउनुभयो । सानै उमेरमा बिवाह गर्ने समस्याका कारण महिलाको शिक्षा, स्वास्थ्यमा असर, मातृ शिशूको स्वास्थ्य जोखिममा पर्ने, घरेलु हिंसा, सम्बन्छ बिच्छेद जस्ता समस्या बढेका छन् ।