प्रभात प्राविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

  • १९ श्रावण २०७६, आईतवार
  • 1175 पटक पढिएको

बेनी १९ साउन । मंगला गाउँपालिका–२ सिमलचौरको प्रभात प्राविका विद्यार्थीहरुलाई शनिबार झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशनले ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको साथमा एक÷एक थान झोला वितरण गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा झोला र शैक्षिक सामग्री वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता, शिक्षक शकुन्तला अधिकारीको सञ्चालन र पूर्व प्रअ गणेशबहादुर बानियाको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा मन्त्री थापा समक्ष विद्यालयमा बालउद्यान बनाउन सहयोगका लागि मागपत्र बुझाइएको प्रअ भेषनाथ पौडेलले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती र स्थानीय अगुवा रुद्र केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो । मन्त्री थापाले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत मंगला १ कुहुँमा सञ्चालित आयआर्जन कार्यक्रमको अनुगमन र समूहका सदस्यहरुसंग अन्तरक्रिया गर्नुभएको उहाँको निजी सचिवालयका सदस्य गम पुनले बताउनुभयो ।