ठकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित, मिडियामा यस्तो गरे अपिल (भिडियो सहित)

  • १८ श्रावण २०७६, शनिबार
  • 2997 पटक पढिएको

म्याग्दी, १८ साउन । बेनी–जोमसोम–कोरला सडक आयोजनामा मजदुरी गर्दै आएका लाल बहादुर बोहोरा ठेकेदारले ज्याला नदिएपछि समस्यामा परेका छन् । गत वैशाखदेखि यस सडक स्तरोन्नतीमा काम गर्न थालेका जाजरकोट घर भएका बोहोरा सहित करिब २०० मजदुर अहिले आफुले काम गरेको ज्याला बापतको रकम नपाएपछि समस्यामा परेका हुन् । बोहोराले मजदुर नाइके समेत हुन् । उनले आफु बाहेक १२ जना मजदुरलाई यस आयोजनाको निर्माण कार्यमा लगाएका थिए ।

 

बेनी–जोमसोम–कोरला सडक आयोजनाको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले मजदुरहरुलाई समयमै ज्याला भुक्तानी नगरेपछि यतिबेला मजदुरहरु आन्दोलित बनेका छन् । मजदुर, मजदुरका नाईकेहरुले ज्याला नपाएपछि काम छाडेका छन भने रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको साइट कार्यालयमा तालाबन्दी समेत गरिदिएका छन् ।

‘‘ अहिलेसम्म २ लाख मात्रै पाएका छाँै, ५ लाख ९० हजार बढी मैले ल्याएका मजदुरहरुको ज्याला भुक्तानी हुनुपर्ने हो, पटक पटक ज्याला माग गर्दापनि सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको हो’’–बोहोराले भने । बोहोराको अगुवाईमा घरपरिवारको खर्च चलाउनका लागि आयोजनामा काम गर्दै आएका जाजरकोटकै ५८ बर्षिय जयबहादुर कार्कीले आयोजनाले समयमा पारिश्रमिक नदिँदा छोराछोरीको पालनपोषण र घरखर्च पठाउन सकस भएको गुनासो गरे । विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म गरेको कामबाट दैनिक ८ सय देखि १ हजारसम्म कमाई हुने भएपनि कमाई नै हात नपरेपछि घरपरिवारलाई के पठाउने ? भन्ने सुविधा उत्पन्न भएको उनले बताए ।

शर्मा–युनाइटेड जेभीले मजदुरको ५६ लाख बढी रकम भुक्तानी गर्न आलटाल गरेपछि मजदुरहरुको संगठन नेपाल पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) र नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)को अगुवाईमा मजदुरहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् । मजदुरका नाईके मेखबहादुर गर्वुजाले आफ्नो ४० जना मजदुरको २५ लाख बढी रकम भुक्तानी हुन बाँकी रहेकाले काम रोकिएको बताए ।

मजदुरहरुले पारिश्रमिक नपाएको गुनासो लिएर आएपछि क्युपेक र जिफन्टले सम्बन्धित निर्माण कम्पनीलाई चिठि लेखेका थिए । निर्माण कम्पनीले मजदुरका समस्याप्रति चासो नदिएपछि संगठनकै नेतृत्वमा मजदुरहरुले साईट कार्यालयमा तालाबन्दि गरेका हुन् । मजदुरको ज्याला नदिएसम्म आन्दोलन जारी राख्ने क्युपेक म्याग्दीका अध्यक्ष महाप्रसाद राईले बताए ।

आन्दोलनमा उत्रिएका मजदुरहरुले ज्याला भुक्तानी नपाएसम्म आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् । अर्का मजदुर नाइके बेदबहादुर थापाले ७७ लाख रुपैयाँको काम गरेर हालसम्म ५४ लाख रुपैयाँ पाएको बताउँदै बाँकी भुक्तानीका लागि काठमाडौमा बोलाएर ठकेदारले हप्तौ अल्झाएपछि आफुहरु काम गर्न नसक्ने अबस्थामा पुगेको बताए । मजदुरहरुको ज्याला, खाना र सुरक्षामा निर्माण व्यवसायि सम्बेदनशिल बन्नको लागि आफुहरु जिल्ला प्रशासन कार्यालय मार्फत थप पहल थालेको जिफन्ट बेनी नगर कमिटीको अध्यक्ष बलादेवी राईले बताईन् ।

कम्पनीका आयोजना व्यवस्थापक बलराम अर्यालले उजुरीमा भनेजस्तो ठुलो रकम मजदुरलाई भुक्तानी गर्न बाँकी नरहेको दावि गरे । ‘मजदुरका केही पैसा भुक्तानी गर्न बाँकी छ, काम गर्दै जाँदा भुक्तानीपनि सोही अनुसार हुँदै जान्छ, बाँकी रहेको रकम भुक्तानी गर्न कम्पनी तयार छ, मजदुरसंग वार्ता गरि कार्यालयमा लगाएको ताला खोल्ने कसरतमा छौँ’’–उनले भने । यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मजदुरलाई ज्याला नदिने कार्य कुनैपनि हालतमा स्विकार्य नहुने भन्दै तत्काल भुक्तानी गर्न बाँही रहेको रकम मजदुरलाई उपलब्ध गराउन सम्बन्धित ठेकेदारलाई निर्देशन दिईएको जानकारी दिए ।