व्यवहारिक शिक्षाको लागि ‘विद्यार्थि र शिक्षक संगसंगै फिल्डमा’

  • १८ श्रावण २०७६, शनिबार
  • 2316 पटक पढिएको

म्याग्दी १८ साउन । पछिल्लो समय बालबालिका किताबि ज्ञानमा मात्रै सिमित हुने र व्यवहारिक शिक्षाबाट बाहिरै रहने समस्या बढिरहेको समयमा बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले भने विद्यार्थीहरुलाई फिल्ड भिजिट गराउन थालेको छ । दैनिक जिवनयापनका बस्तु तथा सामाग्रीमा समेत बालबालिका अनविज्ञता हुने समस्या हटाउन कक्षागत रुपमा फिल्ड भिजिट गराउन थालिएको हो ।

शुक्रवार निमावि ( कक्षा ६ र ७) विद्यार्थीहरुको एक समुहलाई शिक्षकहरूकाे समेत उपस्थितिमा धान खेत, विकास निर्माण आयोजना लगायतको स्थलगत अवलोकन गराईएको विद्यालयका निमावि तह संयाेजक  चन्द्रमान छन्त्यालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई रघुगंगा जलविद्युत आयोजनाको विद्युतगृह क्षेत्रमा भैरहेको विकास निर्माणको बारेमा समेत स्थलगत निरिक्षण गराईएको थियो भने राममन्दिर परिसरमा रहेको धानखेतमा धान रोपाईदेखि चामल बन्ने प्रकृयासम्मको अबस्थाबारे जानकारी गराईएको थियो ।

सोहि अवसरमा बेनीमा खानेपानीको आपूर्ति हुँदै आएको पाईपलाईनको समेत स्थलगत निरिक्षण गरिएको थियो । बेनीमा खानेपानीमा हुने समस्याको प्रमुख कारण बनेको बेनी–जोमसोम सडक विस्तारको क्रममा पाईपलाईनमा हुने गरेको क्षतिबारे स्थलगत रुपमा विद्यार्थीहरुले अवलोकन गरेका थिए ।