ठुला सडक योजनामा देखिएको ढिलासुस्ती हटाउन ताकेता

  • १७ श्रावण २०७६, शुक्रबार
  • 2278 पटक पढिएको

म्याग्दी १७ साउन ।  म्याग्दीमा सञ्चालित पूर्वाधार विकास योजनाहरुमा देखिएको ढिलासुस्ती हटाउन निर्माण व्यवसायिहरुलाई ताकेता गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित योजना र कालिगण्डकी करीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत म्याग्दी खण्डमा सञ्चालित योजनाको सन्दर्भमा सरोकारवालाहरुबिच बृहत छलफल गरिएको छ ।

 

जिल्ला स्थित सरोकारवाला, कार्यालय र आयोजनाका प्रमुख तथा सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिहरु सहभागि भेलाले संघिय र प्रदेश सरकार मार्फत जिल्लामा सञ्चालित कालोपत्रे सहितको सडक स्तरोन्नतीका योजनाहरुलाई समयमै सम्पन्न गर्ने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार कार्यालय अन्र्तगत रहेका बेनी–दरबाङ, बागलुङ–बेनी, बेनी–गलेश्वर सडक कालोपत्रे योजना, कालिगण्डकी करिडोरको म्याग्दी खण्डको कालोपत्रे योजनाको कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्माण व्यवसायि र सम्बन्धित कार्यालयबाट प्रतिबद्धता जनाइएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विस्तारको क्रममा म्याग्दी सदरमुकाम बेनीमा ल्याएको खानेपानीको पाईपलाई नियमति रुपमा क्षती पु¥याउने गरेको कारण खानेपानीमा हुँदै आएको अवरोधलाई तत्काल सुधार गर्न भेलाले निर्देशन दिएको छ । सडक निर्माणको क्रममा खानेपानीको पाईपलाईनमा हुनसक्ने क्षती न्युनिकरणको लागि साबधानी अपनाउने र टुटफुट भएमा मर्मत तथा पाईप स्थानान्तरणको काम सम्बन्धित आयोजनाले तत्काल गर्नुपर्ने निर्देशनात्मक निर्णय भएको छ ।

त्यसैगरि सो सडक आयोजनमा काम गर्ने मजदुरले निर्माण कम्पनीबाट ज्याला नपाएको गुनासोलाई तत्काल सम्बोधन गर्न समेत निर्देेशन गरिएको छ भने सडक आयोजनाको दायाँ र बायाँ रहेका विद्युतका पोललाई तत्काल स्थानान्तरणको लागि समेत आबश्यक कदम चाल्न विद्युत प्राधिकरणलाई निर्देशन दिईएको छ । जिल्लामा सञ्चालित योजनाहरुमा ढिलासुस्ती बढेपछि निर्माण व्यबसायिलाई सचेत र जिम्मेवार बनाउनको लागि ताकेता थालिएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो । उहाँले अन्य आयोजनाहरुको बारेमा समेत नियमित रुपमा सरोकारवालाहरुबिच छलफल चलाईने बताउनुभयो ।

भेलामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले विकास निर्माणको लागि भित्रिएको बजेटलाई प्रभाबकारी कार्यान्वयन गर्न निर्माण व्यवासायि, सम्बन्धित कार्यालय जिम्मेवार बन्नुपर्ने र जिल्ला स्थित सबै सरोकारवाला समेत चनाखो बन्नुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणमा ढिलासुस्ती हुँदा विकासको दृष्टिकोणमा जिल्ला पछि धकेलिने खतरा बढेको भन्दै ढिलासुस्तीलाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मीले विकास निर्माणको कार्यमा आउने स्थानीय समस्यालाई सहजीकरणको लागि राजनीतिक दल तत्पर रहेको बताउँदै कुनैपनि बाहनामा निर्माण कार्यलाई पछि धकेल्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विकास निर्माणमा ढिलासुस्ती प्रमुख चुनौतिको रुपमा देखिएको भन्दै निर्माण व्यवसायि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुंगानाले सडक आयोजनाहरुको भौतिक प्रगतिको अबस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कालिगण्डकी करिडोरको म्याग्दी खण्डको सडकको ठेक्का लिएका शर्मा युनाईटेड जेभिका प्रतिनिधि बलराम अर्याल र शर्मा गजुरमुखीका सचिन क्षेत्री, बेनी–गलेश्वर सडकका निर्माण व्यवसायि प्रतिनिधि विपिन खड्का, बेनी- दरबाङ सडककाे निर्माण कम्पनी लामा लामा समानान्तरका प्रतिनिधि दयाराम थापा, लगायतले सडक कालोपत्रे योजनामा ढिलासुस्ती हुनुको कारण र आइपरेका समस्याहरुबारे सरोकारवालाको ध्यानकर्षण गराएका थिए । कार्यक्रममा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुवास कुमार श्रेष्ठले बेनीदेखि बैँसरी खण्डमा सडक विस्तार गर्दा खानेपानीका पाईपलाईन जथाभावि फुटाउँदा बेनीमा खानेपानी आपूर्तिमा समस्या आएको भन्दै सम्बन्धित निर्माण व्यवसायि र आयोजनाको ध्यानकर्षण गराउनुभएको थियो ।