अपडेटः अख्तियारको छापापछि कस्ले काट्यो स्वास्थ्य कार्यालयमा ताला ?

  • १७ श्रावण २०७६, शुक्रबार
  • धिरन खत्री
  • 2924 पटक पढिएको

म्याग्दी, १७ साउन । पेश्की फछ्र्यौट गर्ने बाहनामा कर्मचारीबाटै घुस रकम लिँदा लिँदै चार कर्मचारी पक्राउ पछि सुनसान बनेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा फेरी नयाँ तरंग बाहिरीएको छ । कार्यालय प्रमुख सहित चार कर्मचारीलाई घुस रकम सहित पक्राउ गरि अख्तियारले नियन्त्रणमा लिएको केही दिनमै स्वास्थ्य कार्यालयमा ‘ताला काटीएको’ बिषयले नयाँ तरंग बाहिर आएको छ ।

अख्तियारको स्ट्रिङ्ग अप्रेशन पछि ताला लगाईएको प्रशासन अधिकृतको कार्यकक्षको ताला संकास्पद तवरले फोरिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ । कार्यालयका तथ्यांक अधिकृत मेगनाथ रेग्मीले प्रशासन अधिकृतको कार्यकक्षमा विहिबार चापी काटेपछि कागजपत्र तलमाथि बनाएको हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयलमा उजुरी परेको थियो ।

रेग्मीले कसैलाई जानकारी नदिईकन ताला काटेर नयाँ ताला लगाएको भेटिएको छ । शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीको नेतृत्वमा गएको निरिक्षण टोलिले संकास्पद तवरले कार्यकक्षको ताला काटिएको बिषयमा स्थलगत निरिक्षण गरि मुचुल्का समेत तयार गरेको छ । निरिक्षण टोली समक्ष तथ्याङ्क अधिकृत रेग्मीले आफुले कार्यालयको छाप प्रयोजनको लागि ताला काटेको स्विकार गरेका थिए । सहायक प्रजिअ सुवेदीका अनुसार, तथ्याङ्क अधिकृत रेग्मीले चापी काटेको स्विकार गर्दै प्रशासन कार्यकक्षबाट छापमात्र निकालेको बयान दिएका छन् ।

रेग्मीले लगाएको नयाँ तालाको चापि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालयको टोलिले नियन्त्रणमा लिएको छ । गत साउन १२ गते पेश्की पछ्र्यौट गरिदिने भन्दै कार्यालयकै कर्मचारीबाट रु १ लाख ३० हजार घुस लिएको अबस्थामा अख्तियारले स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम प्रसाद आचार्य, अधिकृत रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसीलाई नियन्त्रणमा लिएको थियो । स्वास्थ्य कार्यालयको घुसकाण्ड पछि कर्मचारीबाटै पुनः संकास्पद तवरले ताला फोरेको नयाँ काण्डले स्वास्थ्य कार्यालयभित्रको व्यतिथिबारे नयाँ तरंग ल्याईदिएको छ ।

अख्तियारको छापा पछि बन्द गरीएको कार्यकक्षमा अन्य कर्मचारीको मिलमतोमा ताला फोरेर कागजपत्रलाई तलमाथि बनाउन खोजिएको आसंका गरिएको छ । कार्यालय प्रमुख आचार्यको कार्याकक्ष खोलेको र प्रशासन अधिकृत रघुनाथ रेग्मीको कार्याकक्षमा ताला काटेर महत्वपुर्ण कागजपत्र निकालेको भन्दै कार्यालयकै अन्य कर्मचारीबाट प्रशासनमा उजुरी परेको थियो । कार्यालय सहयोगी लेखकुमारी रिजालले आफु बाहिर गएको बेलामा तथ्याकं अधिकृत मेगनाथ रेग्मीले प्रमुखको कार्यकक्ष खोल्ने र अर्को कक्षमा ताला काटिनु भन्दा अगाडि नखोलिएको बताईन ।

जिल्ला प्रशासन कार्यालयको टोलीले स्थलगत रुपमा स्वास्थ्थ कार्यालय म्याग्दीमा मुजुल्का तयार गर्दै ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l