नदी नियन्त्रण टिकाउ नहुँदा दरवाङमा कटानको जोखिम

  • १५ श्रावण २०७६, बुधबार
  • 2058 पटक पढिएको

 

बेनी १५ साउन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा नदी नियन्त्रणका लागि अस्थाई संरचना निर्माण सुरु भएको छ ।एक साताअघि आएको बाढीले किनारमा लगाएको मेसिनरी पर्खाल भत्काएपछि म्याग्दी नदीले बस्तीतर्फ कटान गर्ने जोखिम बढेको थियो ।

तत्काल जोखिम न्युनीकरणका लागि उपभोक्ता समिति मार्फत पर्खाल भत्कीएको ठाउँमा ग्यावीयन लगाउन सुरु भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।उपभोक्ता समितिको कोषमा रहेको ४२ हजार रुपैयाँ र बजारबासीको श्रमदानमा ग्यावीयन पर्खाल लगाउन थालिएको छ ।

जिल्लाको दोस्रो ब्यापारिक केन्द्रका रुपमा चिनिने दरवाङमा दुई सय भन्दा धेरै घरधुरी कटानको जोखिममा छन् । कटान नियन्त्रणका लागि गत आर्थिक वर्षमा ३३ लाख खर्चेर बनाएको मेसिनरी पर्खाल मध्य करिब पाँच मिटर भत्कीएको थियो ।

उपभोक्ता समितिले गुणस्तर अनुसारको निर्माण सामग्रीको प्रयोग नगरेका कारण पर्खाल भत्कीएको बजारबासीले बताएका छन् । वडा अध्यक्ष सन्तोष सुवेदीले सचेत बनाउदा बनाउदै पनि समितिले संवेदनशिल भएर काम नगर्दा लाखौ लगानी खेर गएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष भिमप्रसाद गौतमले प्राबिधिकले तयार पारेको इस्टिमेट र मापदण्ड अनुसारको काम गरेको बताउनुभयो । कमशल नभएर नदीमा अत्याधिक ठूलो बाढी आएकाले पर्खाल भत्कीएको अध्यक्ष गौतमले बताउनुभयो ।

५ मिटर अग्लो, ३१.६ मिटर लम्बाइको मेसिनरी पर्खाल निर्माण गर्ने सम्झौता भएपनि ३६.६ मिटर लामो ४०५ घनमिटर पर्खाल बनाएको उपभोक्ता समितिले जनाएको छ ।