ठेकेदारले ज्याला नदिएपछि मजदुरले गरे तालाबन्दी

  • १५ श्रावण २०७६, बुधबार
  • सन्तोष गौतम
  • 2486 पटक पढिएको

बेनी १५ साउन । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गलेश्वर देखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीका मजदुर, उपठेकेदार र आपुर्तिकर्ताहरुले रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको साइट कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् ।

ज्याला भुक्तानीका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेकाले कार्यालयमा तालाबन्दी र काम रोकेर आन्दोलनमा उत्रिएको मजदुर नाइके राजु परियारले बताउनुभयो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)को नेतृत्वमा आन्दोलनमा उत्रिएका मजदुरहरुले ज्याला भुक्तानी नपाएसम्म आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

सल्यानका ४५ जना मजदुर ल्याएर आएका परियारले ठेकेदारले चार महिना देखिको ज्याला नदिएका कारण भोकभोकै बस्न बाध्य भएको बताउनुभयो । १२ जनाको समूहमा जाजरकोटबाट आएका लालबहादुर बोहोराले चार महिना काम गरेको तीन लाख रुपैयाँ ज्याला नपाएको बताउनुभयो ।अर्का मजदुर नाइके बेदबहादुर थापाले ७७ लाख रुपैयाँको काम गरेर हालसम्म ५४ लाख रुपैयाँ पाएको बताउनुभयो । बाँकी भुक्तानीका लागि काठमाडौमा बोलाएर ठकेदारले हप्तौ अल्झाएपछि घरबाट पैसा मगाएर होटलको खर्च तिरेर आएको बताउनुभयो । थापा मार्फत ८५ जना मजदुरले काम गरेका थिए । दुई वटा ट्याक्टर भाडामा लगाएका थिए ।

मजदुरहरुको बिचल्ली भएको र ठकेदारले बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जिफन्टकी जिल्ला अध्यक्ष बालादेवी राइले जानकारी दिनुभयो । उनिहरुले बेनी स्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्याला उपलब्ध गराउन पहल गरिदिन उजुरी दिएका थिए ।

सहायक प्रजिअ महेश सुवेदीले अन्य आपुर्तीकर्ता र मजदुरहरुले पनि शर्मा–युनाइटेड कम्पनीको विषयमा उजुरी गरेकाले भुक्तानी गर्न पत्राचार गरिएको बताउनुभयो । कम्पनीका आयोजना व्यवस्थापक बलराम अर्यालले सडक विभागले गरेको कामको भुक्तानी नदिएकाले समस्या भएको बताए ।

‘मजदुर र सप्लायर्सले सबै होइन केही रकम मात्र भुक्तानी नपाएका हुन्,’ अर्यालले भने ‘हामीले गरेको कामको अढाई देखि तीन करोड रुपैयाँ सडक विभागले भिओ गरेर भुक्तानी नदिएकाले समस्या परेको हो ।’

सन्तोष गौतम