बेनीमा गठेमंगल पर्व मनाइयो

  • १५ श्रावण २०७६, बुधबार
  • 1943 पटक पढिएको

 

बेनी १५ साउन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन मनाइने गठेमंगल पर्व बेनीमा पनि मंगलबार मनाइएको छ ।परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी कालीगण्डकी नदीमा सेलाएर पर्व मनाइएको हो । बेनीमा नेपाल भाषा मंकाःखल र ल्यामःपुचको पहलमा गठेमंगल पर्व मनाउदै आइएको छ ।

बेनीको संगमचोकमा राखिएको तिनखुट्टे राक्षसको प्रतिकात्मक आकृतीलाइ साँझ परेपछि नेवारी बाजा सहित बजार घुमाएर कालीगण्डकीमा लगेर फालीएको थियो । घण्टाकर्णको स्थानीयबासीले अन्त्य गरेपछी पती बियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाच मार्फत प्रर्दशन गर्ने चलन रहेको छ ।

गठेमंगल पर्वदेखी हरितालीका तिज पर्वको दिनसम्म देखाइने बर्खेनाच बेनीका नेवार समुदायको सांस्कृतिक पहिचान मानिन्छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । बेनीमा बसोबास भएदेखिनै गठेमंगल पर्व मनाउने र बर्खेनाच देखाउने परम्परागत चलन रहेको ल्यामःपूचका अध्यक्ष सुबिन श्रेष्ठले बताए ।