बेनी नगरपालिकाको विपद् प्रतिकार्य योजना

  • १० श्रावण २०७६, शुक्रबार
  • 1859 पटक पढिएको

 

बेनी १० साउन । म्याग्दीको बेनी नगरपालिकाले विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागेको छ ।  योजना निर्माणका लागि शुक्रबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको आयोजनामा अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुबीच जोखिमको पहिचान, क्षति न्युनीकरण, विपद् व्यवस्थापनको तयारी, राहत तथा उद्दारको विषयमा छलफल गरेर सुझाव संकलन गरिएको छ ।

विपद् प्रतिकार्य योजनाको मस्यौदामा जनप्रतिनिधि, सुरक्षा निकाय, रेडक्रसकर्मी लगायत सरोकारवालाहरुबीच छलफल गरि सुझाव दिएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । रेडक्रस सोसाइटीका धनञ्जयकुमार श्रेष्ठ र मुक्ति ढुङ्गानाले तयार पार्नुभएको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । म्याग्दी, कागीगण्डकी र रघुगंगा नदीको कटान, पहिरो, भुक्षय, आगोलागीलाई बेनी नगरपालिकाको विपद्को जोखिमका रुपमा लिइएको छ । विपद् न्युनीकरणका लागि सडक निर्माणलाई वातावरणमैत्री बनाउन सुझाव दिइएको छ ।

यसैगरी जोखिमयुक्त बस्तीको संरक्षण र दिर्घकालीन समाधानका लागि स्थानान्तरणको विकल्प रोज्नुपर्ने समेत सुझाइएको छ । विपद्को जोखिम र क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले नगर र वडा स्तरमा विपद् व्यवस्थापन समिति गठन गरिएको, विपद् व्यवस्थापन सम्बन्धी कानुन बनाएको र पूर्व तयारी समेत गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विपद्को क्षति न्युनीकरण र विपद् पछिको व्यवस्थापनका लागि पूर्व तयारीका लागि स्थानीय तहहरुले प्रतिकार्य योजना बनाउनु तथा कार्यान्वयन गर्नु दायीत्व भएको बताउनुभयो । नगर प्रमुख श्रेष्ठको अध्यक्षता, उपप्रमुख सञ्जु बरुवालको स्वागत र नायव सुब्बा शिव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।