पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यू टावर निर्माण (फोटो फिचर)
- १० श्रावण २०७६, शुक्रबार
- कमल खत्री
- 5605 पटक पढिएको
कमल खत्री /जगत बानियाँ
म्याग्दी १० साउन । म्याग्दीको मंगला गाउँपालिका – ३ मा अवस्थित पर्यटकीय स्थल झाँक्रीपानीमा दुष्य अवलोकन स्थल (भ्यूटावर) निर्माण भएको छ । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत रु १० लाख र स्थानीयको ६ लाख बराबरको श्रमदानमा तीनतले भ्यू टावर निर्माण गरिएको हो ।
जमिनमा पिलर राखेर १४ मिटर अग्लो भ्यू टावरको तीन वटै तलामा रेलिङ राखेर दृष्यअवलोकन गर्न सकिने पूर्वाधार बनाईएको वडा अध्यक्ष कविन्द्र रोकाले जानकारी दिनुभयो । वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत भ्यू टावर निर्माणमा बजेट विनियोजन भएपछि गत बर्षदेखि पूर्वाधार निर्माण सुरु गरिएको थियो ।
भ्यू टावर निर्माण पछि झाँक्रीपानीमा पर्यटकहरुको लागि आकर्षण थपिएको छ । यस बर्ष नै गण्डकी प्रदेश सरकारको होमस्टे प्रवद्र्धन कार्यक्रम अन्र्तगत डिभिजन बन कार्यालय मार्फत विनियोजन भएको बजेटबाट रु ८ लाख ९२ हजार लागतमा पदमार्ग निर्माण भएको उपभोक्ता समितिका सचिब सोमबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, होमस्टे सञ्चालनको लागि तालिम लिएका २२ घरधुरीलाई समेटेर पदमार्ग र भ्यू टावर परिसरमा प्रतिक्षालय निर्माण गरिएको छ । झाँक्रीपानीदेखि ऐतिहाँसिक चिनाकोट दरबार जाने बाटोमा समेत रु १ लाख ५० हजार बजेट मार्फत पदमार्ग निर्माण गरिएको छ भने गाउँपालिकाको केन्द्र बावियाचौरदेखि झाँक्रीपानी जाने पदमार्ग निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय सम्भावनायुक्त झाँक्रीपानीमा होमस्टे सञ्चालन, पदमार्ग, भ्यू टावर, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार निर्माणले पर्यटक आगमन बढाउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो । गाउँपालिकाले झाँक्रीपानीमा एकीकृत सामुदायिक भवन निर्माण निर्माणलाई समेत अघि बढाएको छ ।
सडक सञ्जालले जोडिएको झाँक्रीपानी क्षेत्रमा जाने पर्यटकहरुको सहजताको लागि सडकलाई फराकिलो बनाउने र स्तरोन्नती संगै हरियाली सडकको लागि बृक्षारोपणलाई जोड दिईएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । नवनिर्मित भ्यू टावरको शुक्रवार गाउँपालिका अध्यक्ष रोका सहित, उपाध्यक्ष केसी, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतम, वडा ३ का अध्यक्ष कविन्द्र रोका, ४ का वडा अध्यक्ष ओमबहादुर रोका लगायत प्राविधिक सहितको टोलीले स्थलगत अवलोकन गरेका छन् ।
समुद्र सतहदेखि दुई हजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रेपानी सदरमुकाम बेनीदेखि गाडीमा दुई घण्टा यात्रामा पुग्न सकिन्छ । यहाँबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका १६ वटाभन्दा बढी हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । वरपरको गुराँसको जंगल संगै एकै ठाउँबाट म्याग्दीका ३० भन्दा बढी बस्तीको दृष्य अवालोकन गर्न पाउनु यहाँको थप आकर्षण रहेको छ । मगर र छन्त्याल समुदायको बसोबास रहेको झाँक्रेपानी गाउँ सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । झाँक्रेपानीको प्रचारप्रसारका लागि ७ वर्षअघि महोत्सव आयोजना गरिएको थियो ।
तस्बिर ः जगत बानियाँ/ सन्ताेष गाैतम/ दर्पण राेका
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l