पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (भिडियो सहित)
- ६ श्रावण २०७६, सोमबार
- 2933 पटक पढिएको
म्याग्दी ६ साउन । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सोमबार विहानैदेखि सिधा सवारी अबरुद्ध बनेको हो । यो भिरमा सुख्खा पहिरो खस्दा शनिबार दिनभर पनि सडक अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकको आधार नै बगाएपछि भिरमा विष्फोटक पदार्थ प्रयोग गरि नयाँ ट्याक निर्माण गर्नुपर्ने भएपछि केहि दिनलाई बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध हुने बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए ।
उनका अनुसार, पहिरोले १० मिटर बढी सडकको बेस ९आधार० भत्काएको छ । प्राविधिकहरुद्धारा स्थलगत निरिक्षण गराईएको र बम ब्लाष्टको तयारी गरिएको छ । पहिरो खसिरहने जोखिम कायमै रहँदा सडक हुँदै वारपार गर्ने यात्रुहरुले समेत जोखिमपूर्ण यात्रा गरिरहेका छन् । सिधा यातायात सेवा ठप्प हुँदा बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट बेनी, पोखरा, काठमाडौ लगायत देशका विभिन्न स्थानमा छुटेका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् । सिधा सवारी अबरुद्ध भएसंगै यात्रुहरुले घुमाउरो बाटो हुँदै सवारी परिवर्तन गरि सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
७६ किलोमिटर दुरीको कच्चि अवस्थामा रहेको बेनी–जोमसोम सडकको यात्रा बर्खासंगै जोखिम र सकसपूर्ण बन्न थालेको छ । सडक विस्तारका क्रममा धेरै ठाउँमा पहाड खनिएकाले पहिरो खस्ने र हिलो जम्ने समस्या बढेको छ । सडकको म्याग्दीको गलेश्वर देखि मुस्ताङको घाँसा सम्मको सडकखण्ड पहिरो संगै कालिगण्डकी नदीको कटानको कारण जोखिमपूर्ण छ ।