पहिरो पन्छ्याएपछि बेनी–जोमसोम सडक सूचारु

  • ४ श्रावण २०७६, शनिबार
  • 1829 पटक पढिएको

बेनी ४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि शनिबार बिहानदेखि अवरुद्ध बेनी–जोमसोम सडक साँझदेखि सञ्चालनमा आएको छ । शुक्रबार राती खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा प्रभावित भएको छ ।

सडक मर्मतपछि मुस्ताङतर्फ र जोमसोमबाट बेनी, पोखरा, काठमाडौ लगायत देशका विभिन्न स्थानमा छुटेका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् । बेनी–जोमसोम कोरला सडक आयोजनामा परिचालित निर्माण कम्पनीका एक्साभेटर प्रयोग गरेर सडक खुलाइएको सुपरभाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो ।

७६ किलोमिटर दुरीको कच्चि अवस्थामा रहेको बेनी–जोमसोम सडकको यात्रा बर्खासंगै जोखिम र सकसपूर्ण छ । सडक विस्तारका क्रममा धेरै ठाउँमा पहाड खनिएकाले पहिरो खस्ने र हिलो जम्ने समस्या छ । अर्कोतर्फ कालीगण्डकीको कटानको कारण पनि सडक जोखिममा परेको छ । सडकको म्याग्दीको गलेश्वर देखि मुस्ताङको घाँसा सम्मको खण्ड जोखिमपूर्ण छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सास्ती भएको सर्वसाधारण तथा यातायात ब्यवसायीले गुनासो गरेका छन् ।