बरंजामा खेलमैदान निर्माण (फोटो फिचर)

  • १ श्रावण २०७६, बुधबार
  • 4179 पटक पढिएको

बरंजा १ साउन । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको आरभाङमा  करिब तेइस लाख रुपैयाँको लागतमा खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका, गतिशिल युवा क्लव र सरस्वती आमा समूहको सहकार्यमा खेलमैदान निर्माण भएको हो । जग्गा खरिद सहित खेलमैदान निर्माणमा तेइस लाख रुपैयाँ लगानी भएको गतिशिल युवा क्लवका सचिव सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

पाँच रोपनी पाँच आना जग्गामा निर्माण भएको खेलमैदान ७५ मिटर लम्बाई र २५ मिटर चौडाई छ । भलिबल, बास्केटबल, फुटसल र एथलेटिक्स बिधाका खेल सञ्चालन गर्न सकिने सचिव श्रेष्ठले बताउनुभयो । खेलमैदान निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा सात लाख रुपैयाँ बिनियोजन गरेको थियो । खेलमैदान बनाउन बाह् लाख रुपैयाँमा जग्गा खरिद गरिएको थियो । जग्गा खरिद गर्न स्थानीय सरस्वती आमा समूहले तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

जग्गा खरिद र सम्माउन क्लवले एघार लाख उन्नाइस हजार ७४२ रुपैयाँ लगानी गरेको जनाएको छ । करिब सात लाख रुपैयाँ ऋण रहेको क्लवका पदाधीकारीहरुले बताएका छन् । बरंजामा यसअघि व्यस्थित खेलमैदानको अभाव थियो । क्लवका अध्यक्ष खिमनाथ आचार्यका अनुसार खेलमैदान नहुँदा खेल अभ्यास र खेलकुद प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । गाउँमा सभा, समारोह सञ्चालनका लागि समेत खुल्ला ठाउँको अभाव थियो ।

खेलमैदानमा तारजाली लगाउन, घेराबार गर्न, प्याराफिट र स्टेज बनाउन बाँकी छ् । थप पूर्वाधार तयार पारेर खेलमैदानलाई व्यवस्थित बनाउने क्लवले जनाएको छ । वडा अध्यक्ष कबिन्द्र रोकाले विद्यालय परिसरमा खेलकुद गतिबिधि र मेला सञ्चालन गरिदाँ पठनपाठन प्रभावित भएकाले प्रत्येक बस्तीमा छुट्टै खेलमैदान बनाइएको बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष सोही वडाको खर्कको बस्तीमा पनि अर्को खेलमैदान निर्माण भएको छ । खेलमैदान निर्माण भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । खेलकुद र मेला महोत्सव सञ्चालन गर्दा विद्यालयको पढाई अवरुद्ध गर्ने समस्या घटाउन खेलमैदान निर्माणमा प्राथमिकता दिएको वडा अध्यक्ष रोकाले बताउनुभयो ।