बेनपाको नीति तथा कार्यक्रममा पुरानोलाई निरन्तरता दिदै पारित

  • २१ असार २०७६, शनिबार
  • 1740 पटक पढिएको

 

बेनी २१ असार । म्याग्दीको बेनी नगरपालिकाले अधिकांश विगतका योजनालाई निरन्तरता दिदै शनिबार आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश विगतका वर्षकै विषयलाई दोहोराइएको छ । केही नयाँ कार्यक्रम समावेश भएपनि समग्रमा विगतकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको देखिन्छ ।

बेनी देखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति गर्ने, कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउने, लैङ्गिक समानता र समावेशी बनाउने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रर्वद्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।एक वडा एक युवा क्लव, एक खेलमैदान, साना सिचाईलाई प्राथमिकता दिने, अण्डा, दूध र मासुमा आत्मनिर्भर बनाउने, विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दि मिलान गर्ने, नगर शिक्षा कार्यबिधिको प्रभावकारी कार्यान्वयन गर्ने, सामुदायिक विद्यालयबाट एसईइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहीत गर्ने, युवा स्वरोजगारका लागि सिपमुलक तालिम सञ्चालन गर्ने लगायत केही नयाँ कार्यक्रम पनि समावेश भएको छ ।

एक घर एक धारा सहितको खानेपानी सुबिधा विस्तार गर्ने, एचआइभी संक्रमितलाई औषधी सेवन गर्न अस्पताल पुग्नका लागि यातायात खर्च उपलब्ध गराउने, वडामा घुम्ती स्वास्थ्य र योग शिविर सञ्चालन गर्ने, फाहोर घटाउने, पुननिर्माण र पुनउत्पादन गरी फोहोर व्यवस्थापन गर्ने भएको छ ।नीति तथा कार्यक्रममा नगरसभाका सदस्यहरुले राखेको प्रश्नको नगरप्रमुख श्रेष्ठले उत्तर दिएपछि पारित भएको छ । यसैगरी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले आगामी आर्थिक वर्षका लागि ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरपालिकाको सभाहलमा नगरसभा चलिरहेको छ । नगरसभा सदस्यहरुले बजेटका विषयमा आफ्नो भनाई राख्ने क्रम जारी छ । यसैबीच बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापा सहित कार्यपालिका र वडा सदस्य नगरसभामा सहभागी भएका छैनन् ।

अन्य कार्यपालिका सदस्यहरुका अनुसार २ नम्बर वडाका जनप्रतिनिधिहरुले बजेट वितरणप्रति असन्तुष्टि जनाउदै नगरसभामा सहभागी नभएका हुन् ।