कृषकलाई बिना धितो सहुलियत कर्जा

  • २१ असार २०७६, शनिबार
  • 3401 पटक पढिएको

 

दरवाङ २१ असार । म्याग्दीको मालिका गाउँपालिका दरवाङमा रहेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले कृषकहरुलाई बिनो धितो सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउन थालेको छ ।ब्यवसायिक गाईभैसी, भेडाबाख्रा र बंगुरपालनतर्फ आकर्षित गरि दूध तथा मासु उत्पादन वृद्धी गर्ने उद्देश्यले वार्षिक नौ प्रतिशत ब्याजदरको कर्जा उपलब्ध गराउन थालिएको संस्थाले जनाएको छ ।

साना किसान विकास लघुवित्तीय संस्थाको सहकार्यमा पहिलो चरणमा ३३ लाख रुपैया लगानी गरिसकिएका संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)ले जानकारी दिनुभयो । उहाँका अनुसार थप ६७ लाख लगानी गरेर चालू आर्थिक वर्षभित्रनै एक करोड रुपैयाँ प¥याउने तयारी छ ।

दरवाङको केन्द्रीय कार्यालयका साथै बेनी, सिंगा तातोपानी र ताकमको सेवा केन्द्र मार्फत पनि यो कर्जा सुबिधा उपलब्ध गराउने संस्थाले जनाएको छ । पहिलो किस्ता ९ महिना र त्यसपछि तीन÷तीन महिनामा दुई वर्षभित्र चुक्ता गर्नुपर्ने छ ।एक जनाले पाँच लाख रुपैयाँसम्म कर्जा पाउँछन् । गाईभैसी, बाख्रा र बंगुर पालिरहेका कृषकहरुले कर्जा पाएपछि संख्या थप गर्नुपर्नेछ ।

दरवाङमा रहेको पश्चिम म्याग्दी र दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगलाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच गत फागुनमा एकिकरण भएको थियो ।