विवादले विद्यालयकाे भवन बनेन्

  • २१ असार २०७६, शनिबार
  • 3435 पटक पढिएको

पोखरेबगर २१ असार । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा विबादका कारण विद्यालय भवन निर्माण योजना असफल भएको छ । पोखरेबगर आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माणका लागि चालू आर्थिक वर्षमा बिनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको हो । संघीय सरकारले गाउँपालिका मार्फत दुई कोठे ट्रस भवन बनाउन १६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । गाउँपालिकाले थप दुई लाख बिनियोजन गरेको थियो ।


ब्यवस्थापन समितिका पदाधीकारी र स्थानीयबासीबीचको बिवाद तथा गाउँपालिकाका प्राबिधिकको ढिलासुस्तीका कारण असार महिनाभित्र बनाइसक्नुपर्ने भवन बनाउन नसकेपछि बजेट फिर्ता हुने अवस्था आएको छ । फागुन अन्तिम हप्ता कार्यपालिकाले शिक्षा मन्त्रालयले उपलब्ध गराएको तीन वटा भवन निर्माण योजना पोखरेबगर, कोप्चेपानीको धौलागिरी र राम्चेको देउराली आधारभूत विद्यालयलाई वितरण गरेको थियो ।

कोप्चेपानी र राम्चेका बासिन्दाले अनुदानका अतिरिक्त थप श्रम र नगद जुटाएर भवन निर्माण अन्तिम चरणमा पु¥याएका छन् । पोखरेबगरमा एसइई परिक्षा सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गर्न बजेट उपलब्ध गराएपनि कार्यान्वयन हुन नसकेको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क गिरिले पालिकाका प्राबिधिकले समयमा भवनको नक्सा उपलब्ध गराउन नसकेको र केही स्थानीयको स्वार्थ अनुसार आफूले काम नगर्दा बिवाद निकालेर आयोजनालाई असफल बनाएको बताए। स्थानीय राजाराम बरुवालले भने व्यवस्थापन समितिका अध्यक्ष गिरीले अपारदर्शी दंगले सरोकारवालालाई जानकारीनै नदिई आफूखुसी काम गर्न खोजेकाले भवन असफल भएको आरोप लगाएका छन् ।
अध्यक्ष गिरीका अनुसार बैशाख १२ गते २६ जनाको उपस्थितीमा भवन निर्माणको जिम्मा व्यवस्थापन समितिलाईनै दिने निर्णय भएको थियो । गाउँपालिकाले जेठको अन्तिम सम्म पनि भवनको नक्का उपलब्ध नगराएपछि सम्झौता हुन सकेको थिएन् । असार १ गते नक्सा नआएपनि भवन बनाउन सुरु गर्ने मौखिक समझदारीमा १० जना मजदुर परिचालन गरेर ढुङ्गा फुटाउने काम सुरु गरिएको थियो ।
असार तीन गते बरुवालले सामाजिक सञ्जाल फेसबुकमा अपारदर्शी रुपमा भवन बनाउन लागेको अभिव्यक्ति दिएपछि व्यवस्थापन समितिले तीन दिनको समय राखेर कोटेशन माग गर्दा ८ वटा निवेदन परेकोमा झलक जिसीले १३ लाख ९९ हजार रुपैयाँमा कबोल गरेका थिए । नीतिगत व्यवस्था विपरित सम्झौता र नक्सा बिनै ठेक्का शैलीमा भवन बनाउनु गलत भएको बरुवालको भनाई छ ।
व्यवस्थापन समितिका अध्यक्ष गिरिले भने सबै उपभोक्ता समितिले काम गर्ने शैलि यस्तै भएको र पारदर्शी रुपमै काम गर्न खोज्दा पनि बरुवालको समूहले असहयोग गरेको बताए । गिरीलाई बरुवालले सामाजिक सञ्जालमा गत वर्ष गाउँपालिकाको ७५ हजार रुपैयाँ सहयोगमा विद्यालय परिसरमा पर्खाल निर्माणका क्रममा पनि अनियमितता गरेको आरोप लगाएका छन् ।
कम परिणामको काम गरेर बढी भुक्तानी लिएको र विद्यालयको रकम व्यवस्थापन समिति र वडाका अध्यक्षले प्रयोग गरेको उनको आरोप छ । अध्यक्ष गिरीले भने विद्यालय परिसरमा रहेको ढुङ्गा प्रयोग गर्दा बचेको १६ हजार रुपैयाँ बैठकको निर्णय अनुसार विद्यालयको खातामा राखिएको बताए । वडा अध्यक्ष बरुवालले सामाजिक सञ्जालमा लगाइएको आरोप सत्य नभएको जानकारी दिए । वडा कार्यालयलाई कुनै आर्थिक कारोबारको अधिकार नभएको, व्यवस्थापन समितिले वडालाई रकम नदिएको र सो रकम खोजि गर्दा विद्यालयकै खातामा भएको पाएको बताए ।