५६ जनालाई सवारी चालक, ब्युटीपार्लर र सिलाईकटाई तालिम

  • १९ असार २०७६, बिहीबार
  • 2759 पटक पढिएको

 

बेनी १९ असार । घरेलु उद्योग विकास समिति म्याग्दीले स्थानीय तहसंगको साझदोरीमा ५६ जनालाई सवारी चालक, ब्युटीपार्लर र सिलाईकटाई तालिम दिएको छ ।बेनी नगरपालिकाका ३२ जना र मंगला गाउँपालिकाका २४ जनाका लागि सञ्चालन भएको तालिमको बिहीबार एकै दिन फरक फरक कार्यक्रम गरि समापन गरिएको छ । मंगला गाउँपालिकाका १२÷१२ जनालाई ४५ दिने सवारी चालक र ब्युटी पार्लर सम्बन्धी तालिम दिइएको छ ।

यसैगरी बेनी नगरपालिकाका १० जनालाई ४५ दिने आधारभूत सिलाईकटाई, १० जनालाई एडभान्स सिलाईकटाई र १२ जनालाई ब्युटी पार्लर सम्बन्धी दुई महिने तालिम दिइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले स्वरोजगारका लागि सिप विकासको आवश्यकता रहेको बताउनुभयो । स्थानीय स्तरमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र उनिहरुको आयआर्जनमा समेत सहयोग पुगोस भन्ने उद्देश्यले सिपमुलक तालिम सञ्चालन गरिएको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष सरितादेवी गौतमको अध्यक्षता र तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाको स्वागतमा भएको कार्यक्रममा सहभागिहरुले तालिम उपयोगी भएको बताएका थिए । उनिहरुले तालिममा सिकेको विषयलाई ब्यवहारमा उतारेर व्यवसायिक र स्वरोजगार बन्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, सहभागि खगेन्द्र विश्वकर्मा, ईन्दिरा छन्त्याल, प्रशिक्षक नारायण थापा र गंगा कार्की थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।