हाइड्रो भिलेज नारच्याङमा ईलेक्ट्रोनिक इञ्जिनियरीङको पठनपाठन हुँदै
- १९ असार २०७६, बिहीबार
- 4348 पटक पढिएको
सन्तोष गौतम
बेनी १९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माविमा ईलेक्ट्रोनिक इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालनको तयारी भएको छ । शिक्षा मन्त्रालयको प्राबिधिक धार कार्यक्रम अन्तरगत चालू शैक्षिक सत्रदेखि कक्षा ९ बाट ईलेक्ट्रोनिक इञ्जिनियरीङ विषयको पठनपाठन सुरु गर्न लागिएको हो । दश वटा भन्दा धेरै जलविद्युत आयोजना निर्माणको चरणमा रहेको नारच्याङलाई म्याग्दीको ‘हाइड्रो भिलेज’ को रुपमा चिन्ने गरिन्छ ।
गण्डकी प्रदेशमै पहिलो पटक प्रभा माविले कक्षा १२ सम्म ईलेक्ट्रोनिक इञ्जिनियरीङ विषयको पढाई सुरु गर्ने लागेको व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । यो वर्ष प्रभा सहित पाल्पा र सिराहमा तीन वटा विद्यालयले पहिलो पटक यस विषयको पढाई सुरु गर्दैछन् । अन्नपूर्ण गाउँपालिकाकै ८ नम्बर वडामा रहेको हिमाञ्चल माविले पनि सोही विषय माग गरेकाले बिवाद देखिएपछि मन्त्रालयले करिब तीन महिनापछि मात्र प्रभालाई अनुमति दिएको हो । अनुमति पाएलगत्तै बर्खेबिदा पछि नियमित पठनपाठन सुरु गर्ने तयारी सहित भर्ना अभियान सुरु गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
नजिकै जलविद्युत आयोजनाहरु सञ्चालन भएकाले विद्यार्थीहरुलाई ब्यवहारिक अभ्यास र रोजगारीका लागि सहज हुने बताइएको छ । यस वर्ष ४८ जना विद्यार्थीको कोटा छ । सो विषयमा पढाउने दुई जना शिक्षकको समेत सरकारलेनै व्यवस्था गर्ने भएको छ ।कक्षा १० उतिर्णले सब ओभरसियर र १२ उतिर्णले सब इञ्जिनियर सरहको शैक्षिक योग्यताको मान्यता पाउनेछन् । एक हजार पूर्णाकको १० वटा विषय मध्य चार वटा सामान्य र छ वटा जलविद्युत आयोजनाको प्राबिधिक विषयसंग सम्बन्धित पाठ्यक्रमको पढाई हुने जनाइएको छ ।
विद्यालयमा हालै चार कोठे कक्षा कोठा भवन समेत निर्माण भएको प्रअ भगवान कार्कीले बताउनुभयो । थप पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर कक्षा ११ र १२ को पनि पठनपाठन सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।, तत्कालीन शिक्षा कार्यालयको भुकम्प प्रभावित विद्यालय पुननिर्माण कार्यक्रम अन्तरगत ३६ लाख रुपैयाँ अनुदान सहयोगमा दुई तले भवन निर्माण भएको हो । भवन निर्माणका लागि विद्यालयले आन्तरिक स्रोतबाट अनुदान भन्दा बढी नगद र श्रमदान जुटाएको जनाएको छ ।
यसअघि २०७२ को भुकम्पका कारण पुरानो भवन जिर्ण बनेको थियो । वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले गाउँपालिका मार्फत खेलमैदान निर्माणमा सहयोग गरिएको जानकारी दिदै थप भवनका लागि पहल गरिएको बताउनुभयो । विद्यालयमा १९९ जना विद्यार्थी छन् । कम्प्युटर विषय, कक्षा कोठामा शैक्षिक सामग्रीको प्रर्दशनी लगायतका बिधि प्रयोग गरेर पठनपाठन सञ्चालन गरिएको छ । प्रभा मावि खेलकुद र अतिरिक्त क्रियाकलापमा पछिल्लो समय अगाडी आएको छ । हाल कक्षा १० सम्मको पठनपाठन हुने गरेको छ ।
अन्नपूर्ण प्रथम र निलगिरि हिमालको फेदीमा रहेको नारच्याङ गाउँमा पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा रहेका छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, ४ मेगावाटको रेलेखोला, ९ मेगावाटको सुपर घलेम्दी लगायत आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको हो । गण्डकी प्रदेश र देशकै लागि आवश्यक जलविद्युत सम्बन्धी प्राबिधिक जनशक्ति उत्पादन गर्न इलेक्ट्रोनिक इञ्जिनियरीङ विषयको पठनपाठन प्रभावकारी हुने व्यवस्थापन समितिका सदस्य सुवास विश्वकर्माले बताउनुभयो ।
प्राबिधिक धारतर्फ यस वर्षदेखि रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम मावि र मंगला गाउँपालिका २ बाबियाचौरको मंगला माविमा कृषि प्राबिधिक जेटिए विषयको पठनपाठन सुरु भएको छ । यसअघि बेनी नगरपालिका ९ तोरिपानीको गलेश्वर माविमा सिभिल इञ्जिनियरीङ र मालिका गाउँपालिका ७ बिमको किसानी माविमा बाली तथा पशु विज्ञानको पठनपाठन सञ्चालन हुदै आएको थियो ।