श्रीमतीको स्मृतिमा विद्यालयलाई सहयोग

  • १६ असार २०७६, सोमबार
  • 2087 पटक पढिएको

बेनी १६ असार । धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा रहेको जगन्नाथ आधारभूत विद्यालयलाई स्थानीय दुर्गा पुनले श्रीमतीको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । असार १ गते दिवंगत हुनुभएकी चन्द्रमा पुनको स्मृतिमा पुनले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हो । चन्द्रमाकी बहीनी सोमकुमारी घर्तीले पनि थप बिस हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

उहाँहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण घर्तीलाई नगद हस्तान्तरण गर्नुभएको थियो । कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा ४३ जना विद्यार्थी रहेका छन् । सहयोग प्राप्त रकमलाई स्वर्गीय चन्द्रमा पुनको नाममा अक्षयकोष बनाएर बैङ्कमा राख्ने र त्यसको ब्याजबाट विद्यालयको शैक्षिक गतिबिधिमा सहयोग गरिने शिक्षक अभिभावक संघका अध्यक्ष राम्जी मल्लले बताउनुभयो ।

हिलापोखरी घर भई रोजगारीको शिलशिलामा बेलायतमा रहनुभएका पुनले आफ्नो जन्मथलोको शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।