ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट

  • १६ असार २०७६, सोमबार
  • 5979 पटक पढिएको

सन्तोष गौतम
बेनी १६ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको असार ६ गतेको मन्त्री स्तरीय बैठकको निर्णय अनुसार दानाको ज्ञान प्रकाश र मुस्ताङको जोमसोम स्थित जनहित मावि लगायत देशका १६ वटा सामुदायिक विद्यालयलाई नमुनाको रुपमा छनौट भएका हुन् ।

पछिल्लो पाँच वर्षको एसईई नतिजाको औसत जिपिए, पूर्वाधार, सिकाई उपलब्धि, व्यवस्थापन, राजमार्गको नजिक भएको, समुदायको योगदान, जग्गाको उपलब्धता लगायतका आधारमा नमुना छनौट भएको विद्यालयका प्रअ शान्त नेपालीले जानकारी दिनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने ज्ञानप्रकाश माविले २०७५ को एसईईको नतिजाको औसत परिणाममा जिल्लामै पहिलो स्थानमा आएको छ । विगतका केही वर्ष एसइलसीमा शून्य नतिजा समेत ल्याएको यस विद्यालयले पछिल्लो समय शैक्षिक हिसाबले फड्को मारेको हो ।

कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायको पठनपाठन सञ्चालन गरेको यस विद्यालयमा ३५० जना विद्यार्थी छन् । अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुने यस विद्यालयले शिक्षण इन्टरनेटको माध्यमबाट टेलिटिचीङ समेत गराउँछ । कम्प्युटर विषयको पनि पठनपाठन हुन्छ । प्रभावकारी सिकाई उपलब्धीका लागि शिक्षकहरुले कक्षा कोठामा शैक्षिक सामग्रीको प्रर्दशन गरेर पठनपाठन गराइन्छ ।कालीगण्डकी कोरीडोर को नजिकै अवस्थित यस विद्यालयसंग ५१ रोपनी जग्गा भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो ।

हिमाली जिल्ला मुस्ताङ प्रवेशद्धारको रुपमा रहेको दाना गाउँमा संसारकै गहिरो अन्धगल्छी, मनोरम रुप्से झरना समेत अवस्थित छ ।विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि समुदाय र प्रवासीले करोडौ लगानीमा पूर्वाधार निर्माणका साथै अक्षयकोष स्थापना गरेका छन् । नमुना विद्यालयको मापदण्ड अनुसारको पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पाँच वर्षे परियोजना सञ्चालन हुने प्रअ नेपालीले बताउनुभयो ।


जसका लागि ९९ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । १० रोपनी क्षेत्रफलमा कक्षा कोठा भवन, छात्रावास लगायत पूर्वाधार बनाउने प्रस्ताव गरेको विद्यालयमा प्राबिधिक विषयको समेत पठनपाठनको तयारी भएको छ । विद्यालयमा ५ जना निजी स्रोतका शिक्षक छन् । नमुना विद्यालय छनौट भएपछि दानाबासीमा खुसीयाली छाएको छ ।