दामोदरकुण्ड जाने बाटोमा भारतीय साधूको मृत्यु
- १६ असार २०७६, सोमबार
- 2355 पटक पढिएको
सुन्दरकुमार थकाली
मुस्ताङ १६ असार । प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड जाने क्रममा एक भारतीय साधूको मृत्यु भएको छ। साधूको लेक लागेर स्वासप्रस्वासका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा साधूको शव भेटिएको थियो। रेग्मीका अनुसार परिचयपत्रका आधारमा उक्त शव उत्तर प्रदेश भारत गोरखपुरका जयराम दास त्यागी हो। उनी ७५ वर्षका थिए।
मुस्ताङको विकट तथा मानवबस्ती समेत नरहेको स्थानमा घटना भएकोले प्रहरीले ढिलो गरी सूचना प्राप्त गरेको हो। शनिबार मात्रै प्रहरी घटना स्थल पुगेको थियो।
शव पोस्टमार्टम गर्न सदरमुकाम ल्याउन सम्भव नभएपछि स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा अन्तिम संस्कार गरिएको सूचना अधिकारी रेग्मीले बताए। मृतक साधा आफन्तसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीको भनाई छ।