बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु (भिडियो सहित)
- १५ असार २०७६, आईतवार
- 1851 पटक पढिएको
बेनी १५ असार । बेनी नगरपालिकामा उत्पन्न आन्तरिक गतिरोध अन्त्य भएसंगै आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीती, कार्यक्रम तथा बजेटको तयारी सुरु गरिएको छ । आईतवार बसेको बिशेष नगरसभालाई सर्वसम्मत रुपमा पाँचौ नगरसभामा परिणत गर्ने निर्णय भएसंगै नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको हो । सभामा विशेष महत्वको प्रस्ताबको रुपमा कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको बिशेष नगरसभालाई पाँचौ नगर सभामा रुपान्तरण गरियोस भन्ने प्रस्ताब सर्वसम्मत रुपमा पारित भएको छ ।
नगरपालिकामा देखिएको गतिरोध अन्त्य गर्ने बिषयमा शनिवार नेकपा र नेपाली काँग्रेस म्याग्दी बिचमा सहमतिबाटै गतिरोध हटाउने र नगरपालिकाको बजेत ल्याउने सम्झौता अनुसार कार्यपालिका सदस्य विश्वकर्माले बिशेष नगरसभालाई पाँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताब पेश गर्नुभएको थियो । सो प्रस्ताबमा नगरसभाका सबै सदस्यहरुले सहमति जनाएपछि नगरप्रमुख हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट तयारीको लागि आगामी असार २१ गतेसम्मलाई नगरसभा स्थगित गरेको जानकारी दिनुभयो ।
बैठक स्थगित भएको समयभित्रै सबै तयारी सकेर नीति तथा बजेट पेश गर्ने र असार २५ गतेको समयसिमा भित्रै बजेटलाई पारित गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । राजनीतिक सहमतिसंगै नगरपालिकामा देखिएको जटिलता हटेको र नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी सुरु भएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
उहाँले वडा स्तरबाट आएका योजनालाई बिषयगत समितिमा छलफल गर्ने, बाँकी रहेका वडाहरुमा योजना छनौट गर्ने, राजश्व परामर्श लगायतका सबै प्रकया सकेर २१ गतेको बैटकमा बजेट र नीति सार्वजनिक हुने जानकारी दिनुभयो ।