म्याग्दीमा धान दिवस मनाइयो (फोटो फिचर)

  • १५ असार २०७६, आईतवार
  • 3331 पटक पढिएको

सन्तोष गौतम
बेनी १५ असार । म्याग्दीका विभिन्न ठाउँमा आइतबार १६ औ धान दिवस–२०७६ मनाइएको छ । कृषि ज्ञान केन्द्र, स्थानीय तहहरुका कृषि शाखा र कृषक समूहहरुले धान रोपाई कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन् । कृषि ज्ञान केन्द्र र महारानी कृषक समूहको आयोजनामा बेनी नगरपालिका ५ कुडुले फाँटमा धान रोपाई गरेर दिवस मनाइएको छ । स्थानीय कृषक, जनप्रतिनिधि, सरकारी अधिकारीहरुले पञ्जेबाजा बजाएर हिलोमा धान रोप्दै असारे गित गाएका थिए । सहभागीहरुले हिलो छ्यापा छ्याप गरेर रमाइलो पनि गरेका थिए ।


यस वर्षको धान दिवसको नारा “धान खेतीमा प्रबिधि र यान्त्रीकरण, चाम आयातमा न्युनीकरण” भन्ने रहेको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिनोद केसीले प्रदेश सरकारले उत्पादन बढाएर आयात रोक्न कृषकलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहीत गर्ने नीति र योजना बनाएको बताउनुभयो ।

सांसद केसीले कृषि क्षेत्रको समस्या पहिचान गरि त्यसलाई समाधानका लागि नीतिगत रुपमा पहल गरिने बताउनुभयो । राज्यले उपलब्ध गराउने सेवा सुबिधा बास्तविक कृषक सम्म पुग्नुपर्ने बताउँदै उहाँले चक्लाबन्दी गरेर खेती गर्नेलाई प्रदेशले प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकार मार्फत कुडुलेमा सिचाई आयोजना समेत निर्माण सुरु भएको जानकारी दिदै आगामी वर्ष लिफ्ट सिचाईका लागि पहल गरिएको बताउनुभयो ।

पुर्व सभाषद् तथा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले खेतबारी बाँझो राखेर बसाईसराई गर्ने, विदेशिने र आयातित खाद्यान्न्को प्रयोगले परनिर्भरता बढाएकाले त्यसलाई रोक्न कृषक सचेत र ब्यवसायिक बन्नुपर्ने बताउनुभयो । महारानी कृषक समूहका अध्यक्ष बिरबहादुर जिसीको अध्यक्षता, सदस्य मुक्ति खड्काको स्वागत र बागबानि विकास अधिकृत भोजबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण बानियाले कृषि उपजको बजारीकरण र स्थानीयबासीको सुबिधाका लागि सडक स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले धान नेपालको प्रमुख खाद्यबाली भएको र यसले ग्रहास्थ उत्पादनमा समेत योगदान गरेकाले सरकारले महत्व दिएको बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा हालसम्म आठ देखि दश प्रतिशत धान रोपाई भएको छ । माथिल्लो क्षेत्रमा आधाजसो रोपाई भएको छ भने तल्लो क्षेत्रमा मनसुन सुरुसंगै कृषकहरु रोपाइमा जुटेका छन् । गत वर्ष म्याग्दीमा तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा तेह् हजार ९७८ मेट्रिक्टन उत्पादन भएको थियो ।

 

गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । यसैगरी अन्नपूर्ण गाउँपालिकाको घार, मालिका गाउँपालिकाको तोलाबाङ र मंगला गाउँपालिकाको सिमलचौरमा पनि जनप्रतिनिधि तथा कृषकहरुले धान दिवस मनाएका छन् । बेनी नगरपालिका ७ अग्नीखेतमा माउन्ट एभरेष्ट आवासीय माविको मन्टेश्वरीका बालबालिकाहरुलाई लगेर धान रोपाई गराइएको थियो । यसैगरी जलजला गाउँपालिकाको राममन्दिरमा पनि पण्डीत कमलनयन गौतमको उपस्थितीमा धान रोपाई गरीएको थियो ।