जिपिए अनुसार म्याग्दीको एसईई नतिजा
- १४ असार २०७६, शनिबार
- 2115 पटक पढिएको
सन्तोष गौतम
बेनी १४ असार । राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजामा म्याग्दीका ३.६४ देखि माथिकाे जिपिए ल्याउनेको संख्या ३४ जना छ । गत चैत महिनामा सञ्चालन भएको एसईईमा म्याग्दीका १० वटा निजी सहित ७१ वटा विद्यालयका एक हजार २२९ जना विद्यार्थीहरु सहभागि भएका थिए ।
सामुदायिक विद्यालयका चार र तीस जना निजी विद्यालयका विद्यार्थीले सो जिपिए ल्याएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । बेनीको माउन्ट एभरेष्ट आवासीय माविकी सलिना राम्जालीले ३.८० जिपिए ल्याएकी छिन् । उनको जिपिए जिल्लाको सर्वोकृष्ट भएको विद्यालयले जनाएको छ । सामुदायिक तर्फ बेनी नगरपालिका ९ नेप्टेचौरको राष्ट्रिय माविका निशान चोखालले ३.७० जिपिए ल्याएका छन् ।
रघुगंगा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविका प्रवेशकुमार पाण्डेले ३.६५ जिपिए ल्याएका छन् । गलेश्वर मावि तोरीपानीको प्राबिधिक धार र जामुनाखर्क माविकी एक÷एक जनाले ३.६४ देखि ४ जिपिए ल्याएका छन् ।
इकाइका प्रमुख दलबहादुर थापाका अनुसार ३.२५ देखि ३.९ जिपिए ल्याउनेको संख्या १७५ जना छ । यसैगरी २.८५ देखि ३.२ जिपिए (बि प्लस ग्रेड) ल्याउनेको संख्या ३५३ जना छ ।
६६५ जना ले २.४५ देखि २.८ जिपिए, ६६० जनाले २.०५ देखि २.४ जिपिए, १.६५ देखि २.० जिपिए ३१९ जना, १.२५ देखि १.६ २२ र ०.८५ देखि १.२ जिपिए ल्याउने एक जना छन् ।
औसत ग्रेडको आधारमा सामुदायिकतर्फ ज्ञानप्रकाश मावि र प्राबिधिक धार सञ्चालक गरेको गलेश्वर मावि तोरीपानी अगाडी रहेको इकाईका प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार निजी तर्फ औसत ग्रेडमा लिटिल गार्डेन अघि आएको छ ।