म्याग्दीमा वृक्षारोपण दिवस मनाईयो
- १४ असार २०७६, शनिबार
- 3721 पटक पढिएको
बेनी १४ असार । म्याग्दीमा शनिबार विभिन्न कार्यक्रम गरेर वृक्षारोपण दिवस २०७६ मनाइएको छ । डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह र विभिन्न संघ संस्थाको आयोजनामा रुख रोपेर दिवस मनाइएको हो । डिभिजन वन कार्यालयको सहयोग र गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बेनी नगरपालिका ९ काउलेगौडामा वृक्षारोपण गरिएको छ ।
काउलेगौडा स्थित सामुदायिक फर्निचर परिसरमा सल्ला, राइखन्यु, सिर्मु लगायत प्रजातिका एक सय बिरुवा रोपीएको थियो ।
सडक छेउछाउको पाखोमा भुक्षय नियन्त्रणका लागि अम्रिसोका बिरुवा रोपिएको थियो । सो कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले डेढ करोड बिरुवा रोप्ने सरकारको कार्यक्रम अनुसार म्याग्दीमा रुख र डालेघाँस प्रजातिका २२ हजार बिरुवा तयार पारिएको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष बेलबहादुर चोखाल लगायत जनप्रतिनिधि सहित स्थानीय उपभोक्ताहरुको उपस्थिती थियो । समूहका अध्यक्ष पुण्य चोखालको अध्यक्षता, सचिव सरस्वती सुवेदीको सञ्चालन र उपाध्यक्ष शान्ति रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी बेनी नगरपालिका २ हाँडेभिर स्थित नेकपाको पार्टी कार्यालय परिसरमा पनि वृक्षारोपण गरिएको छ ।
नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ लगायत नेता कार्यकर्ताहरुको सहभागितामा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । म्याग्दीका अन्य ठाउँमा पनि वृक्षारोपण गरिएको छ ।