मालपोतमा अनलाईन सेवा सुरु
- १२ असार २०७६, बिहीबार
- 2803 पटक पढिएको
बेनी, १२ असार । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा सुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकोले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय सेवा भएको मालपोत कार्यालयले जनाएको छ । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको प्रविधिअनुसार, पारदर्शी र सुशासन अपनाउने, तथ्यांक राख्ने र राजस्व संकलन गर्ने लगायतका कामहरू हुने भएको छ ।
पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्ता लगायतका सेवाको लागि दैनिक संयौ हाराहारीमा सेवाग्राही आउने गरेको र अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने कार्यालय प्रमुख मुकुन्द पौडेलले बताए । अनलाइन सेवा सुरु गर्नका लागि मालपोतका कर्मचारीहरुलाई प्राबिधिक तालिम समेत प्रदान गरिएको थियो ।
प्रबिधिको प्रयोग मार्फत भुमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर मंगलबार सेवाको सुभारम्भ गरेका थिए । सेवाग्राहीलाई समयमा सेवा दिन प्रबिधिले सहयोग पुग्ने बताए ।
हरेक सेवाग्राहीको सम्पत्तिको सुरक्षाको ग्यारेन्टी हुने मालपोत कार्यालयले जनाएको छ । पूर्वाधार र प्रबिधिको थप व्यवस्थापन गरेर अनलाइन सेवालाई प्रभावकारी बनाउन पहल गर्ने अधिकृत पौडेलले बताए। दरबन्दि अनुसारका कर्मचारीको अभाव र इन्टरनेट तथा सर्भरमा देखिने समस्या अनलाइन सेवाको चुनौतिको रुपमा रहेको छ ।