विद्यार्थीको स्वास्थ्य परिक्षण
- १२ असार २०७६, बिहीबार
- 2813 पटक पढिएको
बेनी १२ असार । धवलागिरी गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल र धवलागिरी गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दीको आयोजनामा पालिकाका सबै सामुदायिक विद्यालयमै पुगेर स्वास्थ्य परिक्षण गरिएको हो । विद्यार्थीहरुको स्वास्थ्य अवस्था पहिचान गर्ने, स्वास्थ्यप्रति सचेत बनाउने र जटिल रोग देखिएका बिरामीलाई थप उपचारको व्यवस्था मिलाउने उद्देश्यले १० वटा मावि र १८ वटा आधारभूत विद्यालयमै स्वास्थ्यकर्मी पुगेर परिक्षण गरेका हुन् ।
ति विद्यालयहरुमा अध्ययनरत परियोजनाले प्रायोजन गरेका एक हजार २५२ जना सहित तीन हजार ४९५ जना विद्यार्थी मध्य तीन हजार १०३ जनालाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण सेवा दिनुभएको थियो । बर्खे बिदा सुरु हुने समय, भर्ना भएपनि सो दिन विद्यालय नआएका लगायतका कारणले छुटेका ३९२ जनालाई पनि बर्खेबिदा पछि स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइने परियोजनाले जनाएको छ । असारको १ देखि ६ गतेसम्म विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने अभियान चलाइएको थियो ।
अधिकांश बालबालिकामा दाँतको समस्या देखिएकोले उनिहरुलाई लक्षित गरेर आगामी असोज महिना भित्रमा सबै विद्यालय समेट्ने गरेर दाँत सम्बन्धी शिविर आयोजना गरिने कदम म्याग्दीको जनस्वास्थ्य सहायक निरमाया मिजारले बताउनुभयो । यसअघि गत माघको २० देखि २३ गतेसम्म स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन भएको थियो । परियोजनाले सन् २०१३ देखि धवलागिरि गाउँपालिकाको ५ वटा वडाका विद्यालयमा प्रायोजन गरिएका विद्यार्थीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकोमा आर्थिक वर्ष २०७५÷७६ देखि गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेर सबै विद्यालयका सबै बालबालिकाको स्वास्थ्य परिक्षण गर्न थालेको हो ।
शिविरमा बालबालिकाको स्वास्थ्य परिक्षणका साथै परामर्श र आवश्यक औषधी निशूल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । सामुदायिक विकास परियोजनाबाट एक हजार ४३५ जना बालबालिका स्पोन्सरसीप सेवामा समावेश भएका छन् । ती मध्य एक हजार २४२ जना सम्बन्धित विद्यालय र १८३ जना बसाइसराई र विद्यालय परिवर्तन गरेर बेनी पोखरा लगायतका ठाउँमा पढ्नका लागि गएका छन् । जिल्ला बाहिर रहेका स्पोन्सर विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी राख्दै आएको र उनिहरुलाई जटिल समस्या देखिएर उपचार केन्द्रमा जानुपर्ने भएमा परियोजनाले सहयोग गर्दै आएको छ ।