रघुगंगामा ३१ करोड बढीको बजेट प्रस्ताब

  • ५ असार २०७६, बिहीबार
  • कमल खत्री
  • 1957 पटक पढिएको

 

कमल खत्री
म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि रु ३१ करोड बढीको बजेट प्रस्ताब गरेको छ । विहिवार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट अधिवेशनको लागि आयोजना गरेको गाउँ सभामा गाउँपालिकाले कुल ३१ करोड ४१ लाख ३१ हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १९ करोड ८३ लाख र पुँजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार प्रस्ताब गरिएको छ । गाउँपालिकाले प्रस्ताब गरेको बजेटमा प्रशासनिक चालु तर्फको शिर्षकमा ६ करोड १ लाख विनियोजन गरिएको छ । चालु आबको तुलनामा ९० लाख ७१ हजार रुपैयाँ बजेट प्रशासनिक चालु तर्फ कटौती गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक गरिएको बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान र ७ करोड ६६ लाख, संघिय राजश्व बाँडफाँडबाट ७ करोड २ लाख, सशर्त अनुदान १३ करोड ८२ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने विक्तिय समानीकरण अनुदान रु १ करोड २० लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३१ लाख १९ हजार र आन्तरिक राजश्वबाट प्राप्त हुने ४० लाख समावेश गरिएको छ । यस बजेटमा चालु आर्थिक बर्षको असार मसान्त सम्म पनि खर्च हुन नसकेर बचत हुन आउने अनुमानित रु १ करोड बजेटलाई समेत समावेश गरिएको छ ।

बजेट बक्तव्यमा गाउँपालिकाले आगामी आर्थिक बर्षमा गाउँपालिकाको आम्दानीको स्रोत बढाउन करको दायरालाई फराकिलो बनाउने र कर प्रणालीलाई आर्थिक रुपले विपन्न, अशक्त तथा असाह्यमैत्री बनाउने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तिलिजाले बताउनुभयो ।
गाउँपालिकाले भौतिक पूर्वाधार तर्फ रु ५ लाख भन्दा कमका योजनालाई कटौती गरेको र हरेक वडामा एउटा गौरवको योजना छनौट गरि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले सडक, पुल, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ ।

गाउँसभामा पेश भएको बजेटबारे गाउँ सभा सदस्यहरुलाई अध्ययनको लागि समय दिईएको र आगामी असार २० गते पुनः बस्ने गाउँ सभाले छलफल र आबश्यक प्रकृया पुरा गरि पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । रघुगंगाले म्याग्दीमा सबै भन्दा छिटो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । संघिय संसदकै झल्को दिने गरि नीति तथा कार्यक्रम र बजेटलाई रातो बाकसको आकार दिएर सार्वजनिक गरिएको थियो ।

गाउँ सभा हुने सभाहलमा समेत नीति तथा कार्यक्रमको किताब बोकेर गाउँपालिका अध्यक्ष भण्डारी र उपाध्यक्ष तिलिजा हल प्रवेश गर्दा गाउँ सभाका सदस्यहरुले उभिएर सम्मान गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले सहजकर्ताको भुमिकामा गाउँ सभालाई सञ्चालन गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l