बरंजामा प्राङ्गारिक खेती प्रबिधि सम्बन्धी तालिम

  • ४ असार २०७६, बुधबार
  • 1382 पटक पढिएको

 

बरंजा ४ असार । मंगला गाउँपालिकाको बरंजामा बुधबार प्राङगारिक खेती प्रबिधि सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको सहयोग, म्याग्दी विकास मञ्चको संयोजन र हाई हिमालयन अर्गानिक प्रा.लीको आयोजनामा सञ्चालित तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो । तालिममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले स्वास्थ्य कृषि उपज उत्पादनका लागि रासायनिक बिषादि र मलको प्रयोग न्युनीकरण गरी प्राङगारिक खेती गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष रोकाले मंगलालाई अर्गानिक गाउँपालिका बनाउन आवश्यक तयारी र प्रक्रिया सुरु गरिएको समेत बताउनुभयो । रासायनिक मल र बिषादीको विकल्पमा प्राङगारिक मल तथा जैविक विषादी उत्पादन र प्रयोग सम्बन्धी ज्ञान सिप प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको हाई हिमालयन अर्गानिक प्रालिको अध्यक्ष प्रदिप घिमिरे र पुष्पराज सापकोटाले सहजिकरण गर्नुभएको थियो । उहाँहरुले स्थानीय स्तरमा पाइने झारपात र गाइभैसीको गहुँतबाट जैविक बिषादी बनाउने तयारीकाको बारेमा सिकाउनुभएको थियो ।

मंगला ३ का वडा अध्यक्ष कबिन्द्र रोकाको अध्यक्षता, कृषि प्राबिधिक जगत बानियाको सञ्चालन र म्याग्दी विकास मञ्चका कार्यकारी निर्देशक मुक्ति ढुङ्गानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।