मंगलाका अधिकांश योजना सम्पन्न

  • ४ असार २०७६, बुधबार
  • 1397 पटक पढिएको

 

बाबियाचौर ४ असार । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् ।  चालू आर्थिक वर्षको एघार महिनामा ७५ प्रतिशत योजना सम्पन्न भएको र साठी प्रतिशत वित्तिय प्रगति भएको गाउँपालिको जनाएको छ । सूचना अधिकारी तथा कार्यकारी सचिव राजेन्द्र आचार्यले ३२ करोड २७ लाख चार हजार ४४५ रुपैयाँ कुल बजेट भएकोमा जेठ मसान्तसम्म अठार करोड ५६ लाख छ हजार १४ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

१३२ वटा योजना रहेकामा ११६ वटाको सम्झौता र ८७ वटा सम्पन्न भएका सूचना अधिकारी आचार्यले बताउनुभयो । २९ वटा योजना कार्यान्वयनको चरणमा छन् । सडक, सिचाई, भवन, खानेपानी, विद्युतीकरण, नदी नियन्त्रण, नाली निर्माण लगायतका भौतिक पूर्वाधार सम्बन्धी योजनाहरु सञ्चालन भएका छन् ।
हालै अख्तियारी आएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडा स्तरमा योजना छनौट गरि कार्यान्वयनको तयारी गरिएको छ । सिमलचौर–कुहुँ–पूर्णगाउँ–टोड्के, सिम–भरजुला–हिदी, पोक–अर्मन–किमचौर, सातबिसे–बरंजा, पखेर–बरंजा लगायत सडक स्तरोन्नति गरिएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत थाईवाङ, तल्लो डडुवामा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । अर्मन विद्युतीकरण योजना अन्तिम चरणमा पुगेको छ ।
अर्मनमा मानवमुत्रको प्रयोगबाट सुन्तला खेती, बाबियाचौरमा ढल निकासका लागि नालि निर्माण सुरुवात भएको छ । एभोकाडो खेतीका लागि कृषकलाई तालिम र बिरुवा वितरण गरिएको छ । विभिन्न खाद्यबाली र फलफुलका बिरुवा अनुदानमा वितरण गरिएको छ । पाँच वटै वडामा विपन्न २० जनालाई एक, एक वटाका दरले बाख्रा वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरेको छ । निजी स्रोतबाट सञ्चालित विद्यालयमा एक जना शिक्षकको तलब व्यवस्था गरेको छ । महिला, युवा, युवतीहरुलाई स्वरोजगार र सिपमुलक तथा क्षमता विकासका तालिम सञ्चालन भएको छ ।
गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सडक, खानेपानी, सिचाई, भवनका साथै समुदायको आर्थिक र चेतना स्तर सुधार गरेर समतामुलक विकासको बाटोमा अघि बढेको बताउनुभयो । उहाँले पालिकाको सबै सडकलाई सुरक्षित, नियमित सवारी चल्ने र दिगो बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो ।