दरवाङमा उपभोक्ता जागरण अभियान सम्पन्न, संयुक्त बजार अनुगमन

  • ३ असार २०७६, मंगलवार
  • 1950 पटक पढिएको

दरवाङ ३ असार । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सोमबार उपभोक्ता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा उपभोक्ता अधिकार सम्बन्धी नीगिगत व्यवस्था र त्यसको कार्यान्वयन अवस्था, चुनौति र सरोकारवालाहरुको भूमिकाका विषयमा अन्तरक्रिया गरिएको थियो । यसैगरी सोही अवसरमा समितिले दरवाङको पक्कि पुल नजिकै उपभोक्ता अधिकार सम्बन्धी सन्देशमुलक होडिङ बोर्ड समेत राखेको छ ।


कार्यक्रममा स्थानीय व्यवसायीहरुले उपभोक्ता अधिकार सम्बन्धी ऐन नियमको बारेमा जानकारीको अभाव र डिलरहरुले म्याद नाघेका सामान गाउँका पसलमा पठाउने गरेको गुनासो गरेका थिए । उनिहरुले उपभोक्ता अधिकारप्रति सचेत रहने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले उपभोक्ता हित सम्बन्धी नीतिगत व्यवस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो । उहाँले गुणस्तरीय बस्तुको उत्पादन, स्वस्थ्य प्रतिस्पर्धा भएको बजार र उपभोक्ताले स्वस्थ्य बस्तु उपभोग गर्न पाउने अधिकार रहेको बताउनुभयो । उपभोक्ता अधिकारप्रति उपभोक्ता स्वयम सचेत र व्यवसायी सचेत बन्नुपर्ने बताउनुभयो ।


ग्रामिण क्षेत्रमा उपभोक्ता अधिकार सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका कार्यालय प्रमुख सरिता शर्माले बताउनुभयो । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता र वडा अध्यक्ष सन्तोष सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाइका सभापति गोविन सिउथानी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच सोमबार नै दरबाङ बजारमा एकिकृत बजार अनुगमन गरिएको छ । मालिका गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरोकारवालाहरुको टोलीले संयुक्त बजार अनुगमन गरेका हुन् । घरेलु तथा साना उधोग विकास समितिका प्रमुख सरिता शर्माको संयोजकत्वमा , मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालु सहितका जनप्रतिनिधि, उधोग वाणिज्य इकाइ समिति ,इलाका प्रहरी कार्यालय दरबाङका प्रतिनिधिहरुको टोलीले विभिन्न ५१ वटा पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य बस्तु फेला परेका थिए ।